काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले आफ्नो धरातलभन्दा माथि उठि प्रमुख प्रतिपक्ष दलले सरकारमाथि आरोप लगाएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद रिजालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीप्रति इंगित गर्दै प्रधानमन्त्री छँदा जे भनेनि हुन्छ भन्ने किसिमका कुराहरु बिस्तारै गर्न नसकिने थाहा पाएपछि आँखा चिम्लिएर बिना तुकका कुराहरु गरेको आरोप लगाए ।
उनले राजमार्गका ठाउँ-ठाउँमा हवाइजहाज अवतरण गर्ने, रेल पानी जहाज कुदाउने, हेर्नलाई भ्यूटावर बनाउने, विदेशका अतिथिहरुलाई ल्याउन विशेष किसिमको अतिथि गृह बनाउने र सम्पन्न नभएका आयोजनाहरु उद्घाटन गर्नेजस्ता कामहरु ओली सरकारले गरेको बताए ।
उनले यसअघिको सरकारले तयारी नै नभएका आयोजनाहरु शिलान्यास गर्ने कम्प्युटरबाट १६५ वटा निर्वाचन क्षेत्रका सडक शिलान्यास गरेको त्यसको काम सबै ठाउँमा अझै शुरु हुन नसकेको बताए । उनले विपक्षी सांसदहरुले रेल र बिना तयारी सडकको शिलान्यास गरेका कुराहरु उठाएको भन्दै कम्प्युटरबाट शिलान्यास भएको ढुंगा देखाउन विपक्षी सांसदरुलाई चुनौती दिए ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले आर्थिक तथा वित्तीय क्षेत्रमा मुलतः पुन संरचना हुन नसकेको टिप्पणी गरे । उनले राजनीतिक क्षेत्रमा राज्यको पुनः संरचना गरेपनि आर्थिक र वित्तीय क्षेत्र सही रुपमा अझ पुनः संरचना हुन नसकेको भन्दै यसलाई सही ढंगले आत्मसाथ नगर्दासम्म आर्थिक क्षेत्रमा परिवर्तन हुन नसक्ने बताए । उनले कृषि क्षेत्रमा सरकारले आमुल परिवर्तन गर्न आवश्यक रहेको बताए। सांसद बस्नेतले नेपालको कृषि पूर्णतः निर्वाहमुखि रहेको भन्दै आर्थिक स्तरोन्नती गर्न कृषि क्षेत्रलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद जीवनराम श्रेष्ठले सरकारले मलको उद्योग खोल्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले कृषि क्षेत्रको सुधारका लागि र कृषि क्षेत्रको उत्पादनलाई स्तरोन्नती गर्ने हो भने मल उद्योग खोल्ने कुरा पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए।
सांसद श्रेष्ठले नेपालको संघीय राजधानी काठमाडौंलाई बस्न लायक र हेर्न लायक बनाउनु राज्यको पहिलो आवश्यक्ता रहेको बताए । उनले काठमाडौं अहिले बस्न र हेर्न लायक नभएको जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया