बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने

काठमाडौं । बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने भएका छन् । 
हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो । 

आगामी भदौ १ देखि लागू हुन लागेको मुलुकी देवानी (संहिता), २०७५ र त्यससम्बन्धी कार्यविधिमा अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा ती महिलाले जन्माउने शिशुलाई पनि अंश छुट्टयाउनुपर्ने नयाँ व्यवस्था गरिएको हो । 

सगोलको सम्पत्तिमा पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार हुने व्यवस्था हाल व्यवस्था थियो । तर अब आमा अंशियार भए गर्भको बच्चालाई पनि अंश छुट्टयाउनुपर्ने भएको छ । 

समान अंशका लागि र खासगरी छोरीलाई कानूनीरुपमा नै अंश दिलाउन योगदान पु¥याउनको लागी यस्तो व्यवस्था मिलाउन लागिएको हो । 

आमाको गर्भमा हुँदादेखि नै अंश पाउने कानूनी व्यवस्था भएपछि छोरा र छोरीमा हुने विभेदको अन्त्य हुन सक्ने विश्वास लिइएको छ  ।  

नयाँ व्यवस्थाले छोरालाई बढी प्राथमिकता दिने परिवारले पनि बाध्य भएर छोरीलाई पनि समान हक दिनुपर्ने छ । 

वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार बच्चा आमाको गर्भमा रहँदैको अवस्थामा नै अंश पाउने राम्रो कानूनी व्यवस्था भएको हो । त्यो व्यवस्था हालसम्म थिएन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?