खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमाले र नेकपा माओवादी केन्द्रको अघोषित गठबन्धनलाई तोड्दै कांग्रेसका विमला राई मेयर र रमेश राउत उपमेयरमा विजयी भएका हुन् ।
बुधबार राती सार्वजनिक अन्तिम मतपरिणामअनुसार विमलाले एमालेका उम्मेदवार खडेन्द्र राईलाई ३५१ मतले पछि पार्दै मेयरमा बाजी मारेकी हुन् । मेयरका लागि विमलाले ६३१७ मत र खडेन्द्रले ५९६६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७४ को स्थानीय निर्वाचनमा उपमेयरमा विजयी बनेकी विमला यसपल्ट मेयरमा फड्को मारेकी हुन् । खडेन्द्र अघिल्लो निर्वाचनमा पनि मेयरमा कांग्रेसका इवन राईसँग हार बेहाेरेका थिए ।
उपमेयर राउतले ५९३४ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अमेम्बर राईले ५६६१ मत पाएका छन् । विद्यार्थी राजनीतिबाट उदाएका राउत वडाध्यक्षबाट उपमेयरमा उक्लिएका हुन् ।
मुलुकभर एमालेबाहेकका गठबन्धन हुँदा हलेसी तुवाचुङमा एमाले र माओवादी केन्द्रको अघोषित चुनावी तालमेल भएको थियो । तालमेल भए पनि माओवादी केन्द्रकी मेयरका उम्मेदवार रुसिका राईले १०२ र एमालेकी उपमेयरका उम्मेदवार तुलसा बुढाथोकीले ५७० मत पाएकी छिन् ।
११ वडा रहेको नगरपालिकाको आठ वडामा कांग्रेस, दुई वडामा एमाले र एक वडामा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कांग्रेसका रुद्रकुमार राई, २ डिकुवामा कांग्रेसका देबेन्द्रकुमार राई, ३ च्यास्मीटारमा कांग्रेसका भुपालसिं राई, ४ बडहरेमा कांग्रेसका किशोरकुमार बस्नेत, ५ दुर्छिममा कांग्रेसका रुपेन्द्रकुमार राई, ६ मंगलटारमा माओवादी केन्द्रका गन राई निर्वाचित भएका छन् ।
त्यसैगरी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा कांग्रेसका कमल गिरी, ८ धितुङमा कांग्रेसका टेकराज राई, ९ सल्लेमा कांग्रेसका काशीराज राई, १० अर्खौलेमा एमालेका अर्जुनकुमार पुरी र ११ नम्बर वडा राजापानीमा एमालेका अनिश कार्की विजयी भएका छन् ।
जिल्लाका २ नगरसहित १० पालिकामध्ये नेपाली कांग्रेस ६ पालिका प्रमुखमा विजयी भएको छ । माओवादी २ र एमालेले २ पालिका प्रमुख जितेको छ । यसअघि माओवादी एक, कांग्रेस ४ र एमाले ५ पालिकामा जित हासिल गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया