काठमाडौं । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ ।
देशका ७५३ स्थानीय तहमध्ये ६ महानगर र ११ उपमहानगरको मतपरिणाको चासो सबैमा परेको छ । अन्य निर्वाचनमा भन्दा यस निर्वाचनमा रोचक त के छ भने चासोको रुपमा हेरिएका महानगरदेखि उपमहानगरसम्म स्वतन्त्र उम्मेदवारहरुले अग्रता कायम गरिरहेका छन् ।
धेरै स्थानीय तहमा स्वतन्त्रको उम्मेदवारी परे पनि केही बाहेक अन्यको चासो खास्सै थिएन । तर जब निर्वाचनको परिणाम आउन थाल्यो उनीहरुले राजनीतिक दलहरुलाई समेत चुनौती दिएर मत ल्याइरहेका छन् । जसको कारण हरेक राजनीतिक दललाई चुनौती खडा भएको विश्लेषण हुन थालेको छ । रोचक कुरा त के भने ५ दल एकै ठाउँमा मिलेर निर्वाचन लड्दा समेत स्वतन्त्रले चुनौती दिएर ठूलो मतान्तरसहित अग्रता कायम गरेका छन् । देशभर स्वतन्त्रबाट उम्मेदवारी दिनेमध्ये हाल काठमाडौं महानगरका बालेन्द्र साह (बालेन), धरान उपमहानगरका हर्कराज राई र धनगढी उपमहानगरका गोपाल हमाल हुन् । जसले राजनीति दललाई चुनौती दिएर सानदार मतसहित अग्रता कायम गरिरहेका छन् । त्यसो त उनीहरुले राजनीतिक दलबाट उम्मेदवार बनेकाहरुको इलाकामा नै उनीहरुको भन्दा बढी मत ल्याएका छन् ।
सुरुमा खासै स्वतन्त्रको प्रभाव नपर्ने भन्ने आंकलनमा बसेका राजनीतिक दलहरु स्वतन्त्र उम्मेदवारले मत ल्याउन थालेपछि भने चनाखो भएका छन् । तीनै मध्येका एक प्रमुख पात्र हुन काठमाडौं महानगरबाट स्वतन्त्रमा मेयरका उम्मेदवार बनेका बालेन साह । उनले काठमाडौं महानगरमा सुरुवाती चरणमा पछि रहेका थिए तर विस्तारै विस्तारै आफ्नो रफ्तार बढाएर हजारौँ मतान्तरसहित अहिले सबैको नजरमा परेका छन् । उनले काठमाडौं महानगरमा नेकपा एमालेबाट उठेका पूर्वमेयर तथा मन्त्री समेत भइसकेका केशव स्थापितलाई समेत ठूृलो मतान्तरले पछि पारेका छन् । भने ५ दलीय गठबन्धनका उम्मेदवारलाई समेत पछि पार्दै रफ्तारले अघि बढिरहेका छन् । यो समाचार तयार पार्दासम्म बालेनले १८ हजार १६ मत प्राप्त गरेका छन् । जबकी उनका निकटतम प्रतिद्वन्द्वी केशव स्थापितले ९ हजार ३ सय १९ मत प्राप्त गरेका छन् भने गठबन्धनकी उम्मेदवार ८ हजार ३ सय ७२ मत मात्रै प्राप्त गरेकी छिन् । निरन्तर मतान्तर बढाउँदै लगेको कारण एमाले र गठबन्धनका उम्मेदवारले उनलाई हराउँदै जित हासिल गर्न चुनौती देखिन्छ ।
यता गठबन्धन र अन्य राजनीतिक दलका उम्मेदवारहरुलाई पछि पार्दै अग्रगामी छलाङ हानेका अर्का पात्र हुन् धनगढी उपमहानगरका गोपाल हमाल । उनले यसअघि नै धनगढीको मेयर भइसकेका नृपबहादुर वडसहित नेकपा एमाले र अन्य दलका उम्मेदवारलाई पछि पार्दै अग्र स्थान बनाएका छन् । हालसम्म हमालले १२ हजार ३ सय ४ मतसहित अग्रणी स्थान कायम गरेका छन् । त्यसो त उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नृपबहादुर वडले ५ हजार ८ सय ९२ मत मात्रै प्राप्त गरेका छन् । भने नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले २ हजार ७ सय ५२ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वीसँग ठूलो मतान्तर रहेका कारण अन्य राजनीति दलका लागि उनको मत चुनौतीपूर्ण रहने देखिन्छ ।
यता धरान उपमहानगरका हर्कराज राईले पनि अन्य राजनीतिक दलका उम्मेदवारलाई चुनौती दिँदै अग्रता कायम गरेका छन् । हालसम्म राईले ८ हजार १ सय ४० मत प्राप्त गर्ेका छन् । जवकी उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ८ हजार १ सय २८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ६ हजार ७ सय १३ मतसहित तेस्रो स्थानमा रहेकी छिन् । राईले अन्य राजनीतिक दलहरुलाई उछिन्दै अग्रता कायम गरेसँगै अन्य उम्मेदवारहलाई चुनौती थपिएको छ ।
यसरी देशभर स्वतन्त्र उम्मेदवारहरुले महानगर र उपमहानगरमा मानै अग्रता कायम गर्नुले राजनीतिक दलप्रतिको वितृष्णाको उपज भएको कतिपयको बुझाइ रहेको छ । स्वतन्त्र उम्मेदवारहले अग्रता कायम गर्न थालेपछि सडकदेखि सडकसम्म त्यसको बहस चलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया