बालक अपहरणपछि हत्या‌ ग्राउन्ड जिरो रिपोर्ट : ‘तपाईंहरूको बच्चा जिउँदै चाहिन्छ भने ४० लाख दिनुस्’

भक्तपुर । सधै स्कूल गएर साँभ‌ ५ बजेतिर घर फर्किने निशान  खड्का आइतवार पनि उसरी नै घर फर्किए । स्कूलको झोला बिसाएर खाजा खाइसकेपछि उनी सधैझैँ साथीसँग खेल्नका लागि निस्किए ।

सबैसँग उत्तिकै मिल्ने र स्कूलबाट फर्केपछि सधैजसो साथीभाइसँग खेल्न जाने निशान आइतवार पनि खेल्न जाँदा परिवारलाई सामान्य नै लाग्यो । उनको स्वभाव सबैसँग मिल्ने र कोही अन्जान व्यक्तिले फकाए पनि फकिने खालको थियो ।

जुन उनका परिवारका लागि सामान्य लाग्थ्यो । तर, असामान्य अवस्था त्यतिबेला सिर्जना भयो, जब निशान ८ बजेसम्म पनि घर फर्केनन् । 

घरमा छोरो नआएपछि आमाको मनमा चिसो पस्यो । उनले चिनेजानेकालाई भन्न थालिन्, ‘छोरो घर आएन ।’ त्यतिकैमा उनको मोबाइलमा फोन आयो । फोनमा अपहरणकारीले भन्यो, ‘तपाईंहरुको बच्चा जिउँदै चाहिन्छ भने चालीस लाख दिनुस् ।’

घरमा छोरो नआएपछि आमाको मनमा चिसो पस्यो । उनले चिनेजानेकालाई भन्न थालिन्, ‘छोरो घर आएन ।’

राति उनको मोबाइलमा फोन आयो । फोनमा अपहरणकारीले भन्यो, ‘तपाईंहरुको बच्चा जिउँदै चाहिन्छ भने चालीस लाख दिनुस् ।’

आमा चमेली खड्काको मनमा चिसो पस्यो । उनी बोल्न सकिनन् । उनी अक्क न बक्क परिन् । त्यसपछि अपहरणकारीसँग कुनै कुरै भएन ।

बरु सबै मिलेर निशानको खोजी गर्न थाले । काँडाघारी, मनोहरा वरपरका मान्छेहरु कल्याङमल्याङ गर्न थाले ।

उनीहरुमध्ये कसैले प्रहरीलाई खबर गरिदिए । प्रहरी आए ।

रातभरि प्रहरी, आफन्त र टोलका व्यक्ति मिलेर निशानको खोजी गर्न थाले । तर, रातभरि खोज्दा पनि निशानको कुनै अत्तोपत्तो लागेन । अर्कातिर झरीले पनि समस्या पारिरहेको थियो ।
उनलाई चिनेजानेकाहरू अझै अन्यौलमा छन्, अपहरणकारीले के देखेर त्यत्रो फिरौती माग्यो?

निशानका बुबा वैदेशिक रोजगारीका लागि विगत तीन वर्षदेखि मलेसियामा छन् । केही महिनाअघि उनी नेपाल आएका थिए । अहिले उनी मलेसिया फर्किसकेका छन् । यता चमेली भक्तपुरको काँडाघारीमा सामान्य चिया पसल गरेर छोरो पढाउँदै आएकी थिइन् ।

बिहानसम्म प्रहरीको टोली र आफन्तले पनि बालकको बारेमा केही खबर ल्याउन सकेन ।

काँडाघारी प्रभागका असई पूर्ण सुवेदीले सोमबार दिउँसो बाह्र बजे लोकपथसँग कुराकानी गर्दै बालक नगरकोटमा ‘सुरक्षित’ रहेको बताएका थिए । त्यसको केही मिनेटमै घटनाको समाचार संकलनका क्रममा धिरजप्रताप सिंहले बालकको शव फेला परेको लोकपथलाई बताए ।

बालक निशान खड्काका मामा रामकाजी सापकोटाले पनि आफ्नो भान्जाको शव पुरिएको अवस्थामा फेला परेको लोकपथलाई जानकारी दिए । ‘भान्जाको स्वभाव जोसँग भिज्ने खालको थियो, पहिले हामी आत्तिएनौं, फोन आएपछि दिदी पनि बोल्न सक्नुभएन’, उनले लोकपथसँग भने, ‘अपहरणकारीसँग फेरि कुराकानी हुन पाएन, सिधै बिहान शव भेटिएको खबर पायौं ।’

निशान खड्काको स्थायी घर सिन्धोपाल्चोकको ज्यामिरेमा भएपनि परिवार ७ वर्षदेखि भक्तपुरमा बस्दै आइरहेको थियो । निशानले नजिकैको स्कूलमा कक्षा ६ मा पढ्दै आएका थिए ।

नेपालकै सुरक्षित भनिएको काठमाडौंमा पछिल्लो समयमा बढ्दै गएका आपराधिक घटनासँगै यो घटनाले आम नागरिकलाई समेत झस्काएको छ ।

‘बाबु पढेर ठूलो मान्छे बन्नुपर्छ’ भन्नेले नै अपहरणपछि हत्या गरे

एघार वर्षीय बालक निशान खड्काकी आमालाई दिदी नाता लगाउँदै आएका नुवाकोटका अजय तामाङ र सिन्धुपाल्चोकका गोपाल तामाङले नै अपहरणपछि उनको हत्या गरेको पाइएको छ । 

यसअघि पनि विभिन्न अपराधमा संलग्न रहेको अभियोगमा महानगरीय प्रहरीले पक्राउ गरी अदालतमा धरौटी जमानत राखेर छुट्दै आएका सिन्धुपाल्चोकका २० वर्षीय गोपाल तामाङको र बालक निशानकी आमासँग राम्रो चिनजान रहेको थियो । 

अभियुक्त गोपालले नै निशानको अपहरण गरी आमासँग फिरौती माग्ने योजना बनाएका थिए । बालकका बुबा बैदेशिक रोजगारको सिलसिलामा मलेसिया रहेका छन् । मलेसियाबाट मासिक घरखर्च पठाउने गरेको कुराप्रति गोपाल पूर्ण जानकार थिए ।

गोपालले फिरौती रकम असुल्न नुवाकोटका २३ वर्षीय अजयसँग मिलेर अपहरणको योजना बनाएका थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार, आइतवार साँझ स्कूलबाट घर फर्केपछि खाजा खाएर सडकमा निस्केका निशानलाई छ बजे फकाइफुलाई गरी अहपरण गरेका थिए । 

कोठाबाट फुटपाथे पसल सञ्चालन गरिरहेकी आमालाई भेट्न निष्केका निशान नौ बजेसम्म कोठामा नआएपछि घरपरिवार तथा आफन्तले खोजी शुरु गरेका थिए । प्रहरीलाई खबर गरी बालक हराएको सूचना टिपाएका थिए । 

बालक खोज्ने क्रममा राति १० बजेतिर अज्ञात व्यक्तिले आमालाई फोन गरी ‘तिम्रो छोराको माया छ भने ५० लाख लिएर आऊ’ भनेपछि बालककी आमा छाँगाबाट खसेजस्तै भएकी थिइन् । उनले आफ्नो छोरो अपहरणमा परेको खबर गरेकी थिइन् ।

त्यसपछि, अपहरणकारीको इन्काउन्टर भयो

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहले बालक अपहरण परेको सूचना पाउने बित्तिकै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको बताए । प्रहरीले अपहरणकारीले फिरौती माग्न प्रयोग भएको फोन नम्बरबाट अनुसन्धान शुरु गरेको थियो । 

सो फोन प्रयोग भएको ‘लोकेसन’ हेर्दै जाँदा बालकलाई सानोठिमीस्थित नगदेशको एकघरमा राखेको हुन सक्ने सूचनाका आधारमा प्रहरीले घर खानतलासी गर्दा मुख्य अभियुक्त गोपाल बस्ने कोठामा राति नै रगत लतपतिएको संकेत फेला परेको थियो ।

प्रहरीले सोही घटनास्थललाई आधार बनाई थप अनुसन्धान अगाडि बढाउँदै गर्दा उक्त फोनको थप ‘लोकेसन’ उनीहरु बस्ने घरधनीका छोराले बनाउँदै गरेको निर्माणधीन घरमा भेटिएको थियो ।

बिहान घटनास्थलमा पुगेको प्रहरीले निशानको हत्या गरी सोही निर्माणधीन घरको पछाडि भागमा खाल्डोमा गाडेको अवस्थामा फेला परेको थियो ।

काँडाघारीस्थित हाइल्याण्ड बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत निशानको शव फेला पारेपछि प्रहरीले अपहरणकारी गोपाल नै भएको सबूत फेला पारेको थियो । अनुसन्धानमा संलग्न महाशाखाका प्रमुख सिंहले भने, ‘मुख्य अभियुक्त गोपाल र अजय नै भएको स्पष्ट भयो ।’

बालकको शव आफन्त तथा स्थानीय प्रहरीको जिम्मा लगाई अपहरणकारीको अनुसन्धानमा खटेको महाशाखाको टोलीले गोपाल र अजय भक्तपुरको सूर्यविनायक पुगेको सूचना पाएको थियो ।

सोही सूचनाका आधारमा पक्राउ गर्न सूर्यविनायक हुँदै गणेश मन्दिर पुगेको प्रहरीलाई देख्नेबित्तिकै दुवैजना अपहरणकारी मुठभेड गर्न आएका थिए । महाशाखाको स्पेशल टोलीले उनीहरुलाई नियन्त्रण लिन खोज्दा दुईटै समूहबीच मुठभेड भएको महाशाखाले जनाएको छ । 

प्रहरीसँगको मुठभेडका क्रममा दुवैजना अपहरणकारीको मृत्यु भएको छ । उनीहरुको साथबाट एकथान कटुवा पेस्तोल र दुई राउण्ट गोली बरामद गरेको छ । अपहरणकारीको साथबाट फिरौती रकम माग गर्न प्रयोग भएको सिमकार्ड र मोवाइल सेट समेत बरामद गरेको छ । 

प्रहरीले अपहरणकारीहरुले मृतक बालककी आमासँग फिरौती माग्दा प्रयोग गरेको मोवाइल र सिमकार्डको लोकेसनका आधारमा उनीहरुसम्म पुग्न सफल भएको हो । 

निशानकी आमाले जग्गा खोजिदिन भनेकी थिइन् गोपाललाई

मृतक बालक निशानकी आमाले अभियुक्त गोपाललाई केही महिना पहिला सस्तो मूल्यमा जग्गा खोजी दिन समेत आग्रह गरेकी थिइन् । सिन्धुपाल्चोक एउटै जिल्ला घर भएकाले अभियुक्त गोपाल मृतक बालकको कोठामा आवतजावत गर्ने गर्थे ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?