जेठ, असार र साउन यी तीन महिना नेपालभर भारी वर्षात् हुन्छ ।
मानो रोपेर मुरी फलाउने ध्याउन्नमा अधिकांश कृषकहरु खेतबारीमा हिलो र धानका गाँजसँगसँगै हुन्छन् ।
अनाज उम्रनको लागि पनि वर्षात् अत्यावश्यक छ । तर जब जेठ कटेर असार लाग्छ ।
पानी परिरहन्छ ।
मुसलधारे वर्षा ।
अहिले अविरल वर्षा नरोकिएपछि सुनसरी झुम्काका २० वर्षिय अनिश अधिकारीको मुटुमा ढ्याङ्ग्रो ठोक्न थालेको छ । कतै पोहोर जस्तो त हुने हैन ?

के भएको थियो पोहोर ?
वर्षायाम शुरु भएसँगै खोलाहरुमा पानीको सतह बढेको छ ।
पहाडका साथीहरुले अनिशलाई सुनाएका थिए खहरे खोलाहरु वर्षासँगै उर्लेका छन् ।
उखरमाउलो गर्मीले शिथिल पारेको तराई सिमसिमे पानीमा थोरै तङ्ग्रिन्छ ।
अनि अर्को समस्या शुरु भइहाल्छ ।
त्रिशुली धार परिवर्तन गरेर बग्न थालेको छ ।
महेश खोलाहरु भित्तो कोपेर दौडेको छ ।
अनिशले देखेका छन् खोला छेउ र खोलाभन्दा केही सतह उचाईमा रहेका स–साना टिनका छाना हालेर पसल गर्दै गुजारा चलाउनेहरु, दिउँसो भरी गिटि कुट्नेहरु सडकमा रहेको चौतारीमा सुस्ताउनेहरु रनभुल्ल खुईईई गरिरहेका , भगवान् पुकारीरहेका ।
किनकी सिङ्ग्या खोला उर्लिएको थियो ।
वेगले दौडेको थियो ।
एक्लै होइन ।
नजिकका काठ पातहरु बटुलेर, केही मानव बस्तीहरु उचालेर केही लाशहरु तैराउँदै ।
स्कुल बन्द हुन्छ ।
जलमग्न हुन्छ ।
झुपडीहरुको नामोनिमोट बाँकी रहँदैन ।
त्यतिमात्रै होइन नदी, खोलाभन्दा टाढाका बस्तीहरुमा त्रास छाउँछ ।
कोही शरण लिन पुग्छ ।
कोही पहाडतिर आउँछन् ।
पक्की घर भएकाहरुको पहिलो तल्ला पुरै डुब्छ ।
पानीको निकास नै हुँदैन ।
आकाशबाट निरन्तर परिरहन्छ ।
तराईबासी भगवान् भरोसामा हुन्छन् ।
पुरै वर्षाभरी । अनिश भन्छन्, यो तराईबासीको साझा समस्या हो । हामी वर्षाभरी निदाउन सक्दैनौँ ।

सरकार के हेरेर बस्छ ?
हरेक वर्ष वर्षायाममा बाढी पहिरोका कारण शैयौँ मानिसहरुको ज्यान जान्छ ।
हजारौँमानिस घरबारविहीनताको अवस्थामा पुग्छन् । प्रकृतिले सर्वस्वहरण गरेर बाँचेकाहरु पनि एक मुठ्ठी खाद्यान्नको अभावमा मृत्युवरण गर्न बाध्य हुन्छन् ।
अर्कोतर्फ बाढी पीडितलाई वितरण गर्नको लागि विभिन्न ठाउँहरुबाट लत्ताकपडा, खाद्यान्न, भाँडाकुडा सहयोगस्वरुप आउँछ ।
तर त्यसमाथि पनि राजनीति हाबी हुन्छ । कसैलाई काखा कसैलाई पाखाको शैलीमा ।
यो यथार्थ नेपाल सरकारलाई थाहा नभएको होला ?
झापाका अधिकांश क्षेत्र, मोरङको उर्लाबारी, मधुमल्ला राजघाट, रंगेली, बिराटनगर, बेलबारी, केराबारी, लेटाङ, सुन्दरहरैचा, सुनसरीको ईटहरी, दुहवी, पानबारी लगायतका ठाउँमा असारको शुरुमै बिजोग गरायो बाढीले ।
सप्तरी र सिराहा जिल्लाका विभिन्न खोलाहरु र सप्तकोशी नदी आसपासलगायतका क्षेत्रमा रहेको विभिन्न खोलाहरुमा आउने बाढीका कारण ती क्षेत्रका लाखौँ बासिन्दा प्रत्यक्ष प्रभावित हुने गरेका छन् । दर्जनौं खोलाहरुमा आएको बाढीका कारण आसपासका शहर पुरै डुबानमा पर्ने गरेका छन् । साउनको आधातिरबाट मौसम झनै सक्रिय भएको छ । आईतबार रातिदेखि परेको भीषण वर्षाले देशैभर बबण्डर मच्चाएको छ । निरन्तर वर्षाले सुकुम्बासी बस्तीदेखि सपिङ मलसम्म डुबानमा पारेको छ ।
बाँकेको नेपालगञ्ज शहर डुबानमा पर्दा जनजीवन अस्तव्यस्त भएको छ ।
यतिमात्रै कहाँ हो र ? मरेका पशुचौपायाको दुर्गन्धको कारण सुसाएर बगेको कोशी शान्त हुँदा बस्ती पुरै गन्हाउँछ । संक्रमण फैलिन्छ । तर पूर्वतयारी खै ? सरकार अप्ठेरोमा परेका बाढीपीडितलाई हरेक वर्ष नजरअन्दाज गरिदिन्छ ? त्यसैले तराईबासीको आक्रोशपूर्ण प्रश्न तेर्साउँदै छन् । के जनता भोट बैंक मात्रै हुन् ?

यसो गर्नुपर्छ, सरकारले
सरकारले बाढी पहिरो र डुबानको क्षतिको सम्बन्धमा दिर्घकालीन नीतिहरु बनाएर तत्काल लागु गर्नुपर्छ । यसका साथै वर्षात्को समयमा जोखिम कम गर्न मातहतका निकायलाई अलर्ट पोजिसनमा राख्नुपर्छ । योजनाहरु यसरी समयावधि तोकेर पनि बनाउन सकिन्छ ।
- वर्षात् पूर्व
- वर्षात् समय
- वर्षात् पछिको समय ।
सबैभन्दा धेरै प्रभावित प्रदेश र जिल्लाहरु एकिन गर्नुपर्छ ।
बस्ती स्थानान्तरण गर्नुपर्ने जिल्लाका गाउँ बस्तीहरु निर्धारण गर्नुपर्छ ।
वर्षात् समयमा नागरिकलाई वर्षा भइरहेको अवस्था र पूर्वानुमानबारे एकद्धार प्रणालीबाट सूचना दिनुपर्छ ।
डुबानबाट हुनसक्ने समस्या, जिउज्यानको सुरक्षा, पशुचौपाया, खाद्यान्न जोगाउने, लगायतका बारे पूर्वजानकारी गराउनुपर्छ ।
आमसञ्चारका माध्यमबाट सूचना लिइरहने बानी बसाउन जानकारी दिनुपर्छ ।
राहत उद्धार तथा गाँस, बास र कपासको आशमा बसेकाहरुको तथ्याङ्क निकाली एकद्धार पद्धतिबाट जतिसक्दो छिटो वितरण गर्नुपर्छ ।
उद्दार तथा राहत वितरणमा राज्यका हरेक तह र तप्काका निकायलाई क्रियाशील बन्न निर्देशन दिनुपर्छ ।
बितेका दिनमा भएका गल्तीहरुको समीक्षा गरी त्यसो हुन नदिन सचेत हुनुपर्छ ।
क्षति न्यूनीकरणका लागि क्षेत्रीय कार्यालयमा स्थापना गर्ने ।
राहत तथा उद्धारका लागि आवश्यक हेलीकोप्टर तम्तयारी अवस्थामा राख्ने
सडक आवागमन सहज बनाउन ‘हेभी इक्यूपमेन्ट’ परिचालन गर्ने
विपद्पछिको उद्धारका लागि त्रिपाल, खाद्य सामग्री तथा अन्य औषधोपचार सामग्रीको जोहो गर्ने
सहयोगी संस्थासँग सम्पर्क गर्ने
अन्यथा अपूर्णनीय क्षति भएका परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भनेर मात्रै कुनै नेपालीको मन छुने छैन ।
स्थानीय निकायमा जनप्रतिनिधि आइसकेपछि जनतासँग अपेक्षा थियो ।
तर बाढी आउनेबित्तिकै लुगलुग कामेका तराईबासीको चित्कार सुनिन्छ ।
तराईमात्रै होइन यसपालि पहाडमा पनि बाढीले उधुम मच्चायो ।
भक्तपुरको हनुमन्ते खोला बौलाएर शैयौंको घर डुबेको घटना होस् या ललितपुरको सुकुम्बासी बस्तीमा बाढीले पारेको बिजोग ।
सबै बाढीपीडितको कहर र वेदना एकै किसिमको छ ।
दशौं वर्ष अगाडिका कोशीपीडितहरु अहिलेपनि राहत नपाएर छट्पटिरहेका छन् ।
हरेक स्थानीय तहमा जनप्रतिनिधि पुगेको भएतापनि करिब एक वर्षको अवधिमा यो समस्या समाधान गर्नेतर्फ कसैले सोचेको छैन ।
सरकार, डुबानपिडित , बाढीपीडितलाई ओत चाहिएको छ । विज्ञप्ति होइन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया