एमालेले आज पनि संसदमा अवरोध जारी राख्ने

लोकपथ
154
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसदमा अवरोध जारी राख्ने भएको छ । मंगलबार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा एमालेले अहिलेसम्म पार्टीले कुनै नयाँ निर्णय नलिइसकेको बताए ।

उनले संसदमा निर्विरोध उपस्थिति हुने कि नहुने भन्ने बारेमा पार्टीले नयाँ निर्णय नलिसकेको तर छलफलमा रहेको बताए । उपाध्यक्ष नेम्वाङले स्थानीय निर्वाचनको मत परिणाम आइरहेकोले त्यसलाई ध्यानमा राखेर नयाँ निर्णयमा पुग्ने बताए ।

उपाध्यक्ष नेम्वाङले सत्तामा रहेको दलले प्रमुख प्रतिपक्षको बिरुद्धमा गठबन्धन गरेर प्रमुख प्रतिपक्षलाई एक्ल्याउने ढंगले काम गर्नु आश्चर्य भएको बताए । उनले सबै दलहरु मिलेर प्रमुख प्रतिपक्षलाई एक्लाउने कुरा संसारमा कतै नभइ नेपालमा मात्रै भएको जिकिर गरे । उनले सबै दल मिलेर एमालेलाई घेराबन्दीमा पार्दासमेत अहिले आइरहेको मत परिणामले आफू उत्साहीत भएको बताए ।

त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले स्थानीय निर्वाचनको नतिजा पार्टीले अपेक्षा गरेअनुसारको नभएको बताए । उनले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले राज्य संयन्त्रको चरम दुरुपयोग गरेको आरोप लगाए ।

प्रमुख सचेतक भट्टराईले स्थानीय तह सदस्य निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई दुई किसिमका घेराबन्दी गर्दा पनि नतिजा राम्रो आईरहेको बताए। उनले स्थानीय तह सदस्य निर्वाचनको नतिजाबारेमा पार्टीले समीक्षा गर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?