काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मातातीर्थमा निर्माणाधीन भूमिगत प्रसारण लाइनको काम दुई महिनाभित्र पूरा गर्न निर्देशन दिएका छन् ।
त्रिशूली कोरिडोरमा उत्पादित विद्युत प्रवाह गर्ने मुख्य तथा महत्त्वपूर्ण लाइन भएकाले तोकेको समयभित्र पूरा गर्न निर्देशन दिइएको हो । यो त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनको एउटा खण्ड पर्छ ।
१ हजार ३ सय ९ मिटर भूमिगत लाइनमध्ये अहिलेसम्म करिब ६ सय ३० मिटर पूरा भएको छ । निर्माणस्थलमा वन र स्थानीयको समस्या रहेकाले निर्माणलाई गति दिन नसकिएको आयोजनाले जानकारी गराएको छ ।
उत्पादित विद्युत खेर जान नदिन समयमै प्रसारण लाइन पूरा हुनुपर्ने मन्त्री पुनले बताए । ‘वन, स्थानीयबासी र सुरक्षा सबैको व्यवस्था गर्ने जिम्मा सरकारले लिन्छ, सुरक्षाबारे गृह मन्त्रीसँग पनि कुरा भइसकेको छ,’ मन्त्री पुनले भने, ‘तर, काम समयमै सकिनुपर्छ ।’
मन्त्री पुनले वनको समस्या समाधान गरिदिन वनमन्त्री शक्तिबहादुर बस्नेतसँग फोनमै कुराकानी समेत गरेका छन् ।
विद्यमान समस्या समाधान भए २ महिनाभित्र काम पूरा हुने चिनियाँ ठेकेदार सिडब्लूईले प्रतिबद्धता जनाएको छ ।
सिभिल निर्माण २ महिनाभित्र पूरा भए तार केही समयपछि तान्न सकिने आयोजनाका अधिकारीको भनाइ छ । स्थानीयलाई असर नपर्ने गरी निर्माण भइरहेको यो देशकै पहिलो भूमिगत प्रसारण लाइन हो ।
त्रिशूली–काठमाडौं प्रसारण लाइनमा निर्माण हुने १ सय ४० टावरमध्ये १ सय २७ वटाको निर्माण पूरा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया