यसअघि जितेको ४ पालिकामा माओवादीले जोगाउन सकेन सिट

लोकपथ
5.2k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले हालसम्म ७२ स्थानीय तहमा जित हात पारेको छ । यीमध्ये यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको ४ स्थानीय तहमा पनि कांग्रेसले जित निकालेको छ ।

कांग्रेसले यसअघि माओवादी केन्द्रले जितेको जुम्लाको हिमा गाउँपालिका, सोलुखुम्बुको लिखु पिके गाउँपालिका र माहाकुलुङ गाउँपालिका र रोल्पाको गंगादेव गाउँपालिकामा यसपटक जित हात परेको हो ।

हिमा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका तर्फबाट लक्ष्मण बहादुर शाही विजयी भएका हुन् । शाहीले १८ सय ७२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अम्मराज शाही १४ सय २३ मत पाएका छन् ।

यस्तै, माहाकुलुङ गाउँपालिका सोलुखुम्बुमा कांग्रेसका सुर्य बहादुर राई २१ सय मतले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सागर किराँतीले १६ सय २६ मत ल्याए ।

लिखु पिके गाउँपालिका सोलुखुम्बुमा कांग्रेसका मिना देवी कार्की ११ सय ६९ मतले विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका डम्बर बहादुर बस्नेतले ११ सय ४१ मत पाए ।

गंगादेव गाउँपालिका रोल्पामा कांग्रेसका हरी बहादुर पुन २ हजार ५४८ मतले विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रोशन कुमार वलीले २ हजार ४९९ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?