स्थानीय निर्वाचनका कारण छायामा पर्‍यो मोदीको नेपाल भ्रमण

लोकपथ
39
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आइपुगेका छन् । मोदी २५६६औँ बुद्ध पुर्णिमाको अवसरमा नेपाल आएका हुन् । बिहान १०ः४० बजे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका मोदीलाई नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्चपदस्थ अधिकारीहरुले स्वागत गरेका हुन् ।

करिब ६ घण्टा नेपालमा रहने मोदीको भ्रमणका क्रममा बुद्ध पुर्णिमाको विभिन्न कार्यक्रममा सहभागि हुने, प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च पदस्त व्यक्तिहरुसँग भेट्ने र लुम्बिनी भ्रमण गर्ने लगायतका कार्यक्रम रहेको छ । आजै साँझ उनी स्वदेश प्रस्थान गर्नेछन् ।

मित्र राष्ट्र मात्र नभएर छिमेकी देश रहेका कारण पनि दुई देशका राष्ट्रप्रमुखको भ्रमणले विशेष प्राथमिकता पाउने गरेको छ । सन २०१४ मा पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल आएका मोदीको यो पाचौँ नेपाल भ्रमण हो । अन्य भ्रमणमा जस्तो मोदी नेपाल आउने कुराले यसपटक प्राथमिकता पाएको छैन । वैशाख ३० गते शुक्रबार भएको स्थानीय तह निर्वाचनको मतगणना जारी रहेका कारण पनि मोदीको नेपाल भ्रमण छायामा परेको हो । देशभरको स्थानीय सरकार गठबनका लागि मतपरिणाम आउने क्रम जारी रहेका कारण मोदीको नेपाल भ्रमण चासोमा नपरेको हो ।

यसअघि कहिले कहिले भयो मोदीको नेपाल भ्रमण ?

नेपाल र भारतबीच नियमित उच्चस्तरीय भ्रमण र औपचारिक अन्तरक्रिया हुने गरेको छ । २०१४ मा भारतीय प्रधानमन्त्री मोदीले दुई पटक नेपाल भ्रमण गरे । अगस्टमा द्विपक्षीय भ्रमण र नोभेम्बरमा सार्क शिखर सम्मेलनको लागि मोदीले ११ देखि १२ मे २०१८ सम्म नेपालको राजकीय भ्रमण गरेका थिए र सोही वर्ष ३० देखि ३१ अगस्ट २०१८ मा बिमस्टेक शिखर सम्मेलनको लागि दुई दिने भ्रमण मोदीले गरेका हुन् । त्यसैगरी मोदीको निमन्त्रणामा नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०१७ अगस्टमा भारतको राजकीय भ्रमण गरेका थिए र उनी पुनः नेपालको प्रधानमन्त्री भए पक्षात सन् २०२२ अप्रिल १ देखि ३ गते पुन एक पटक भारतको राजकीय भ्रमण गरे ।

दुई देशका नेताहरूबाट पटक पटक भएको उच्चस्तरीय भ्रमणले दुई देशबीचको सद्भावना, विश्वास, समझदारी र सहयोगलाई प्रवर्द्धन गर्न मद्दत गरेको छ र सदियौं पुरानो र बहुआयामिक द्विपक्षीय मित्रता र सहयोगको सम्बन्धलाई थप सुमधुर बनाउन नयाँ गति दिएको बताइएको छ ।

यता नेपालका प्रधानमन्त्रीहरुले पनि आफू प्रधानमन्त्रीमा नियुक्त भएपश्चात पहिलो भ्रमण नै भारतको रहँदै आइरहेको छ । गत असारमा प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले गत चैतमा भारत भ्रमण गरेका थिए ।

देउवाले भारत भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री देउवाले मोदीलाई नेपाल भ्रमणको निम्ता समेत दिएका थिए ।

देउवाको भारत भ्रमणको डेढ महिनापछि मोदीले बुद्धजयन्तीको अवसरमा आयोजना भएकाे कार्यक्रममा सहभागि हुन मोदी नेपाल आएका हुन् ।

यस्तो छ नेपाल भारत सम्बन्ध

नेपाल र भारतबीच सदियौदेखी मित्रवत सम्बन्ध रहदै आएको छ । खुला सिमाना, घनिष्ट भाषिक, बैवाहिक, धार्मिक र सांस्कृतिक समानता दुई देशको मित्रता अनुपम उदाहरण हो । नेपाल र भारतबीच इतिहास, संस्कृति, परम्परा र धर्मको सदियौं पुरानो सम्बन्धमा कारण स्थापित भएको उत्कृष्ट द्विपक्षीय व्यापक र बहुआयामिक सम्बन्धको आधार बनेको बुझ्न सकिन्छ । अझ एकअर्कासँग राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक विषयमा धेरै समानताको कारण नेपाल भारत सम्बन्ध थप मजबुत रहेको छ ।

शान्तिपूर्ण सहअस्तित्व, सार्वभौम समानता , एकअर्काको आकांक्षा र संवेदनशीलतालाई बुझ्ने सिद्धान्तप्रतिको अटल प्रतिबद्धता नै द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुँदै गएको बलियो आधार हो । बृहत् दक्षिण एसियाली संस्कृतिका अंग भएकाले नेपाल र भारत सांस्कृतिक परम्परामा विशेष रूपले निकट र समान छन्। दुबै देशले धार्मिक र सांस्कृतिक सम्पदालाई समृद्ध बनाउन आ आफ्नो क्षेत्रबाट ठूलो योगदान पर्‍याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?