भक्तपुरको राधे राधे र सल्लाघारी डुबानमा, उच्च सतर्कता अपनाउन आग्रह

भक्तपुर: रातभर परेको पानीले हनुमन्ते खोलाको सतह बढेपछि भक्तपुरको राधेराधे क्षेत्र फेरि डुबानमा परेको छ । 

सहरमा बाढी पस्दा हनुमानघाटस्थित सिद्दी स्मृति बाल अस्पताल, परोपकार केन्द्र, सल्लाघारीस्थित डा। र्इवामुरा अस्पताल, राममन्दिर, शान्ति निकेतन मावि लगायतका संरचना डुबानमा परेका छन् । 

भारी वर्षाका कारण ढुङ्ग्रे खोला, खस्याङ खुसुङ खोला हुँदै हनुमन्ते खोलामा बाढी आएर पानीको बहाव जमीन सतहभन्दा माथि आएपछि बस्ती डुबानमा परेको हो ।

राधे राधे क्षेत्रका करीब ७० घर डुबानमा परेका छन् ।

यहाँका बस्ती डुबानमा परेपछि घरबाट मानिस बाहिर निस्किएका छैनन् । बिहान ४ बजेअगाडि देखि नै घरभित्र पानी पसेपछि यहाँका बासिन्दा त्रसित भएका थिए । पानी घरभित्र पसेपछि घरको भुइँतलाका सबै सामान बिग्रिएका छन् । पसल र केही घरका सामान भने प्रहरीले बिहानै आएर सारेको र केहीको उद्धार गरेको बताइएको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार रातभर पानी परेर खोलाको सतह बढेपछि सुरक्षाकर्मीलार्इ उच्च सतर्कताका साथ परिचालन गरिएको र डुबानग्रस्त क्षेत्रमा अहिले उद्दारका लागि काम भर्इरहेको छ ।
राधे राधे क्षेत्रका विद्यार्थी विद्यालय जान नसकेको अवस्था छ, बासिन्दा घरबाट बाहिर ननिस्कँदा कार्यालयसमेत जान पाएका छैन् ।  ।यहाँका होटल तथा रेष्टुरेण्ट बन्द भएका छन् । यातायात कार्यालयले राधे राधे क्षेत्रमा सञ्चालन गर्दै आएको सवारी अनुमतिपत्रको प्रयोगात्मक परीक्षा बन्द भएको छ । अरनिको राजमार्गस्थित भक्तपुर र मध्यपुरथिमि जोड्ने हनुमन्ते पुल क्षेत्र भासिएको छ । 

स्थानीयबासीलार्इ उच्च सतर्कताका साथ बस्न पनि प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?