पूँजीबजारका लगानीकर्तालार्इ म्युचुअल फण्डमा पनि घाटा

काठमाडाैं : घट्दो बजारका कारण शेयरमा घाटा खार्इरहेका लगानीकर्ताहरूले म्युचुअल फण्डको लगानीमा पनि नोक्सानी ब्यहोरिरहेका छन् । नेपाली पूँजीबजारमा रहेका १३ वटा म्युचुअल फण्डमध्ये ९ वटा फण्डको मूल्य अाधारभन्दा पनि तल झरेको छ । 

म्युचुअल फण्डको मूल्यमा भएको गिरावटले नाफा पाउने अपेक्षामा रहेका लगानीकर्ता मारमा परेका छन् । अहिले बजारका ९ वटा म्युचुअल फण्डको मूल्य अाधारभूत मूल्यभन्दा पनि तल झरेको छ । 

१० रूपैयाँ अाधारभूत मूल्यमा खरिद खरिएको फण्डको मूल्य पछिल्लो समय १० रूपैयाँभन्दा पनि कममा झरेको छ । ग्लोबल आइएमइ समुन्नत स्किमको बजार मूल्य आठ रुपैयाँ ७० पैसा कायम भएको छ, जसमा लगानीकर्ताले १ रूपैयाँ ३० पैसा घाटा ब्यहोरेका छन् । 

लगानीकर्तालार्इ सिटिजन म्युचुअल फण्डमा १ रूपैयाँ ६ पैसा, लक्ष्मी इक्विटी फण्डमा १ रूपैयाँ ८४ पैसा, नबिल इक्विटी फण्डमा १ रूपैयाँ, नबिल प्रगति फण्डमा १ रूपैयाँ ९४ पैसा, एनआइसी एसिया ग्रोथ फण्डमा ९३ पैसा, एनएमबी हाइब्रिड फण्डमा ७४ पैसा, सानिमा इक्विटी फण्डमा ८० पैसा र सिद्धार्थ एक्विटी फण्डमा ९० रूपैयाँ घाटा परेको छ । 

सामूहिक लगानी कोष अर्थात म्युचुअल फण्डलार्इ पूँजीबजारको मेरूदण्डका रूपमा लिर्इन्छ । तर, पूँजीबजारमा निरन्तरको गिरावटले यस्ता फण्डमा लगानी गर्नेहरूले अाफ्नो साँवा नै गुमाउनुपर्ने अवस्था देखिएको छ। 

अहिले जम्मा ४ वटा फण्डका लगानीकर्ताको मात्रै साँवा सुरक्षित देखिएको छ । लक्ष्मी भ्यालु फण्डको प्रतिएकाइ मूल्य १० रुपैयाँ ४० पैसा, एनआइबिएल समृद्धि फण्ड एक योजनाको प्रतिएकाइ मूल्य १० रुपैयाँ ५० पैसा, एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड एकको १२ रूपैयाँ र सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको मूल्य ११ रुपैयाँ ४४ पैसा रहेको छ । यी फण्डमा लगानी गर्नेले न्यूनतम ४० पैसादेखि अधिकतम २ रूपैयाँ मात्र नाफा पाउने स्थिति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?