बैतडीमा छोरी जन्माउने दुई सय आमालाई प्रोत्साहन भत्ता

बैतडी : छोरी जन्माएवापत बैतडीका दोगडाकेदार गाउँपालिकाका दुई सय बढी आमाले प्रोत्साहन भत्ता पाएका छन् । गाउँपालिकाभित्र गत आर्थिक वर्षको अवधिमा छोरी जन्माएका २ सय १२ आमालाई प्रोत्साहनस्वरुप एकएक हजार रूपैयाँका दरले भत्ता दिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए।

गत वर्षदेखि नै दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको थियो । सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चार पटक गर्भजाँच गराएमा थप रु चार सय दिँदै आएकोमा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप रु एक-हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको हो ।

छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिए प्रोत्साहन भत्ता दिन थालिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बतार्इन्। ''हाम्रो समाजमा अझै पनि छोरा र छोरी भनेर विभेद गरिन्छ,'' उनले भनिन्, “छोराछोरीबीचको विभेद अन्त्य हुने विश्वास लिएका छौँ” छोरी पनि छोरा समान हुन् भन्ने सन्देश दिन र समाजमा समानता कायम गर्नका लागि छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन थालिएको उनको भनार्इ छ ।

दोगडाकेदार गाउँपालिकाले छोरी जन्मिदा दिने गरेको प्रोत्साहन भत्ताले केही राहत भएको स्थानीय कुत्ती भुलले बतार्इन् । श्रीकोट स्वास्थ्य चौकीमा मेरो छोरी जन्मिदा थप रु एक हजार मिल्यो, उनले भनिन्, “पैसा कमै भए पनि गाउँपालिकाले गरेको यो कार्य निकै राम्रो लाग्यो ।” 

गर्भाअवस्थामै छोरी भए गर्भ फाल्ने तथा भु्रणहत्यामा कमी ल्याउनका लागि गत भदौबाट प्रोत्साहनस्वरुप भत्ता दिने निर्णण गरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए। छोरी जन्मिदा आमालाई प्रोत्साहन भत्ता दिने दोगडाकेदार गाउँपालिका बैतडीकै पहिलो गाउँपालिका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?