बुङ्कोटलाई गोरखा जिल्ला कै नमूना गाँउ बनाउन युवाहरु संगठित

काठमाडौं । गोरखा जिल्लाको ऐतिहासिक वस्ती बुङ्कोटको शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगार लगायत समंग्र विकास निर्माणका लागि ‘सेवाकारी भावना’ बोकेका युवाहरु संगठित भएका छन् ।

सहिद लखन गाँउपालिका वडा नम्वर–८ बुङकोट जन्मभूमि भई हाल विभिन्न पेशा र ब्यवसायको सिलसिलामा काठमाडौंमा बसोवास गर्दै आएका युवाहरुको शनिवार सम्पन्न भेलाले सहिद लखन गाँ.प.–८ सेवा समाज काठमाडौं गठन गरेका छन् । 

बुङ्कोटवासीको बाक्लो जमघट रहेको उक्त भेलामा बुङ्कोटक्षेत्रको सामाजिक–साँस्कृतिक, आर्थिक समृद्धि र विकास निर्माणका  सम्वन्धमा छलफल तथा अन्तरक्रिया पनि गरिएको थियो । 

कार्यक्रममा पर्यटन ब्यवसायी एवं समाजकमा संयोजक नवराज अम्गाईले राजनीतिक तथा ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर जन्मभूमिको विकासमा लाग्नु पर्ने आवश्यकता औल्याएका छन् । 

गोरखाको ऐतिहासिक बस्ती बुङकोट साँस्कृतिक तथा पुरातात्विक दृष्टिकोणले आफैमा चर्चित रहेको चर्चा गर्दै अम्गाईले सहिद लखन–८ को स्वास्थ्य, शिक्षा, सडकवत्ती, यातायात, खानेपानी लगायत समंग्र विकासका लागि एकजुट हुनु अनिवार्य भएको बताएका छन् । 

यो समन्वय समिति गठन गरेर कुनै पार्टीको भातृसंगठन वा शहरमा बसेर गाँउ चलाउन खोजेको पक्कै होइन, कसैमा भ्रम नहोस उनले थपे–सबै आस्था विचार, क्षमता, योग्यता, पेशा तथा ब्यवसायमा आवद्ध ब्यक्तिहरुलाई एकै मञ्चमा समेटेर गाँउको विकास गर्न लागौं भन्नेमात्र हो । 

त्यस्तैं, बुद्धिजीवी खिलराज सुवेदीले विकास निर्माणका लागि सधै सरकारको मुख ताक्नुभन्दा आफै जुटेर केही गर्न र युवालाई विकास निर्माणप्रति प्रतिवद्ध बनाउन सस्थाको स्थापनाबाट सघाउ पुग्ने बताएका छन् । 

युवा समाजसेवी उत्तरकुमार श्रेष्ठले आफ्नो जन्मभूमि आमा जतिकै प्यारो हुने भएकाले जन्मभूमिलाई विर्सेकाहरुलाई पनि पुनःस्मरण गराउन यस  किसिमको अभियान सार्थक हुने धारणा राखेका छन् । 

प्राध्यापक कल्पना अधिकारी थापाले आफ्नो जन्मभूमिको विकासका लागि स्वदेश तथा विदेशीमा रहेर विभिन्न पेशा ब्यवसाय आवद्ध ब्यक्तिहरुले सक्दो सहयोग गरेको खण्डमा शान्ति र समृद्धिका साथै विकासमा आमूल परिवर्तन ल्याउन सकिने दावी गरिन । 

सहभागी युवाहरुले उक्त सेवा समाजको गठन, यस्ले बुङ्कोटक्षेत्रका स्थानीयवासीको सेवामा गर्नुपर्ने कामहरु र युवा परिचालन, आर्थिक सहयोग तथा स्रोत ब्यवस्थापनका विषयमा छलफल गरेका थिए । सहिद लखन गाँप–८ लाई गोरखा जिल्लाकै नमूना गाँउ बनाउनु पर्नेमा उनीहरुको एकमत रहेको छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?