जाजरकोट: बर्सेनि वर्षायाम सुरु हुने बित्तिकै पहिरोको डरले ओलगुत्ताकाका बासिन्दालाई घर छाडेर छिमेकी जिल्ला जानुपर्ने बाध्यता छ । स्थानीय नलगाड नगरपालिका–१३ ओलगुत्ताका बासिन्दा वषौँदेखि यसरी नै बसोबास गर्दै आएका हुन् ।
असार, साउन र भदौ महिनामा करीब ५० घरधुरीका बासिन्दा आफ्नो घर र जग्गा छाडेर जीवन बचाउन रुकुम आठबीसकोट नगरपालिकाको वडा नं ६ मा बस्दै आएका छन् । पानी पर्ने बित्तिकै घरमाथि रहेको ठूलो पहाडबाट ढुंगा खस्ने र पहिरो आउने डर भएकाले घर छाड्न बाध्य हुनुपरेको स्थानीय तेजबहादुर विकले बताउनुभयो ।
पहिरोका कारण यहाँका बासिन्दाले घाँस, दाउरा गर्न र घरपालुवा जनावरलाई चरनका लागि लैजान पनि डराउने गरेको उहाँको भनाइ थियो । जोखिममा रहेका यो बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा सार्न कुनै पहल नहुँदा उनीहरू बर्सेनि घर छोड्न बाध्य भएका हुन् । पानी नपरेको समयमा दिउँसो गएर घरको काम गर्ने तर सुत्न भने रुकुम नै आउने गरेको अर्का स्थानीय शुक्रराज सिंहले जानकारी दिए ।
सञ्चार सेवासमेत भरपर्दो नभएको यस ठाउँमा कतिबेला के हुन्छ भन्न नसकिने उनको भनाइ थियो । भेरी नदीको किनारमै रहेको यो बस्ती जाजरकोटको अति विकट स्थान मानिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया