संसदीय सुनुवाइ विशेष समितिको बैठक किन बहिष्कार गर्याे कांग्रेसले ?

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृति गर्नुपर्ने कारण र आधारसँग असहमति रहेको जनाउँदै संसदीय सुनुवाइ विशेष समितिको बैठक बहिष्कार गरेको जनाएको छ ।

समितिमा रहेका काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की, जीतेन्द्रनारायण देव, भीमसेनदास प्रधान र पुष्पा भुसालले नियुक्ति अस्वीकृत गर्नुपर्ने रायसँग असहमति रहेको जनाउँदै बैठक बहिष्कार गरेका हुन् ।  समितिको आजको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित जोशीलाई अस्वीकृत गरेको थियो ।

काँग्रेस सांसदले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद्ले कानूनमा उल्लेख भएको योग्यता परीक्षण गरेर मात्र सिफारिश गरेको तर्क गर्दै सो योग्यता पुगेको कुरालाई विनाकारण र आधार संसदीय सुनुवाइ समितिले अन्यथा भन्न नसक्ने उल्लेख गरेका छन् ।

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को दफा ५ (१) मा “परिषद्ले कुनै व्यक्तिलाई संवैधानिक निकायको कुनै पदाधिकारी पदमा नियुक्तिका लागि सिफारिश गर्दा त्यस्तो पदमा नियुक्त हुन संविधान तथा प्रचलित कानूनमा उल्लेख भएको योग्यता तथा उपयुक्तताको कारण र आधारसमेत स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ’’ भन्ने व्यवस्था छ ।

त्यस्तै दफा ५ (२) मा “परिषद्ले उपदफा (१) बमोजिम कुनै व्यक्तिलाई नियुक्तिका लागि सिफारिश गर्दा निजको सामाजिक प्रतिष्ठा, उच्च नैतिक चरित्र, इमान्दारी, निजप्रतिको जनभावना तथा निजले पहिले गरेको सेवा र पेशागत अनुभवसमेतलाई विचार गर्नुपर्नेछ’’, भन्ने उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?