काँग्रेस संसदीय दलको बैठक पुनःशनिबार बस्ने

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको घटनाका सम्बन्धमा छलफल गरेको छ । 

काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा मन्त्रीलाई प्रश्न सोध्न समय नपाएका सम्बन्धमा छलफल भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा काँग्रेसले गृहमन्त्री रामबहादुर थापाले बोलेका विषयमा प्रश्न सोध्न र थप जिज्ञासा राख्नका लागि माग गर्दा पनि समय नपाएको भन्दै बैठक बहिष्कार गरेको थिए । 

मन्त्रीले वक्तव्य दिइसकेपछि सांसद्ले प्रश्न सोध्न पाउने र मन्त्रीले जवाफ दिनुपर्ने संसद् नियमावलीमा व्यवस्था भएपनि तर सभामुखले समय माग गर्दा पनि  समय नदिएको उनिहरुको गुनासो छ ।  

 सभामुख कृृष्णबहादुर महरालाई आजको प्रतिनिधिसभाको बैठकमा काँग्रेस सांसद उपस्थित हुन असमर्थ भएको  जानकारीपछि प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगन गरिएको छ । 

 काँग्रेस संसदीय दलको बैठक शनिबार अपराह्न २ बजे पुनःबस्ने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?