सांसद पालमाथि भएको घटनाको अनुसन्धान गर्न एसपी जोशीको संयोजकत्वमा अनुसन्धान टोली गठन

काठमाडौं । प्रतिनिधिसभाका सांसद निरुदेवी पालमाथि भएको घटनाको सम्वन्धमा छानविन गर्न महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीको संयोजकत्वमा विशेष अनुसन्धान टोली गठन गरिएको छ । 

अनुसन्धान टोलीको सदस्यहरुमा महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द काफ्ले र परिसरमै कार्यरत प्रहरी निरीक्षक सुरेन्द्र केसी रहेका छन् । 

अनुसन्धान टोली संयोजक जोशीले माननीय पालमाथि भएको अपराध र अपराधिको अनुसन्धान प्रक्रियालाई छिटोछरितो र प्रभावकारी बनाउन समिति गठन गरिएको बताए । 

सांसद पालमाथि असार १५ गते साँझ थापागाँउबाट बानेश्वर निष्कने ओरालोमा अज्ञात ब्यक्तिले पेस्तोल कन्चटमा ताकेर धम्की दिनुका साथै मोवाइल समेत लुटेर फरार भएका थिए । 

सो घटनाको अनुसन्धानमा खटेको महानगरीय प्रहरीले विहीवारमात्र ८२ जनालाई नियन्त्रणमा लिएको थियो ।  पाल नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित सांसद हुन ।

उनलाई सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधिस दिपकराज जोशीको विषयलाई लिएर धम्की दिएको भनाई सार्वजनिक भएको छ । घटना भएको एक दिन वित्दा पनि सांसद पालले घटना सार्वजनिक नागरेपछि उनको निकै आलोचना भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?