काठमाडौं । नेपाली सेनाको न्यूरोड महांकालस्थित त्रि–चन्द्र मिल्ट्री अस्पताल आजबाट सञ्चालनमा आएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले अस्पताल भवनको उद्घाटन गरेका हुन ।
२०७२ सालको महाविनाशकारी भूकम्पका कारण चर्किएको उक्त भवन सेनाको कल्याणकारी कोषको लगानीबाट पुनः निर्माण शुरु गरिएको थियो । तर, भवन पूर्णरुपमा भने सञ्चालनमा आइ नसकेको सेनाले जनाएको छ ।
विक्रम सम्वत १९७१ सालमा स्थापना भएको नेपालकै एतिहासिक तथा पुरातात्विक उक्त सैनिक अस्पताल तत्कालिन समयमा विश्वयुद्धका क्रममा घाइते र अंगभंग भएका बीर वहादुर सेनाको स्वास्थ्य उपचारका लागि स्थापना गरिएको थियो ।
प्रधानसेनापति क्षत्रीका अनुसार, विश्वयुद्धको समाप्तिपछि सेनाले सैनिक जवान तथा तिनका आश्रित परिवारको औषधिउपचार महांकाल त्रि–चन्द्र मिल्ट्री अस्पतालबाट हुदै आएको थियो ।
बढ्दो शहरीकरणसंगै जनसंख्या बृद्धि र सैनिक जनशक्ति थपिदै जान थालेपछि महांकालका अतिरिक्त छाउनीमा वीरेन्द्र सैनिक अस्पतालमा सञ्चालनमा ल्याइएको जानकारी पनि प्रधानसेनापति क्षत्रीले दिएका हुन ।
भूकम्प प्रतिरोधक तथा परम्परागत शैलीमा निर्माण गरिएको उक्त अस्पताल तीन तले रहेको छ । अस्पतालमा सैनिक कर्मचारी र तिनका आश्रित परिवारको उपचारका लागि डेण्टल, फिजियो थेरापी, रेडियोलोजी, फार्मेसी र बाल केयर सेण्टर लगायतका सुविधा उपलब्ध छन् ।
प्रधानसेनापति क्षत्रीले सैनिक कर्मचारीको ‘छाक’ काटेर उठेको रकमबाट अस्पताल निर्माण गरिएको बताए । अस्पतालको पछाडि भागमा सात तले सपिङ (ब्यापारी ) कम्प्लेक्स निर्माणधिन अवस्थामा रहेको छ ।
सो भवनको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ भने अस्पतालको पनि केही मेडिकल वार्डहरु बनाउने कार्य जारी छ ।
शुरुमा त्रि–चन्द्र मिल्ट्री अस्पतालको सम्पूर्ण भू–भागमा अस्पताल निर्माण गर्ने योजना थियो–प्रधानसेनापति क्षत्रीले भने, तर भू–वनावट र क्षेत्रफलको आधारमा अस्पताल सञ्चालनका लागि उपयुक्त नभएपछि पछाडिको भागमा ब्यापार कम्प्लेक्स निर्माण गरेका हौ ।
कल्याणकारी कोष सञ्चालन सम्वन्धी ऐनले नै कोषको रकम आयआर्जन मूलक काममा खर्च गर्न सक्ने ब्यवस्था गरेकाले अस्पताल बन्न नसक्ने भएपछि अगाडिको पुरातात्विक सम्पादलाई संरक्षण गरी पछाडि भागमा नयाँ भवन निर्माण गरिएको दावी सेनाको छ ।
ब्यापारी भवन भाडामा लगाए वापत उठेको रकमले कैलालीको धनगढी, बाँकेको नेपालगञ्ज, सुर्खेत र बुटवलमा सैनिक अस्पताल सञ्चालन गर्ने तयारी भइरहेको सैनिक कल्याणकारी निर्देशनालयका निर्देशक सहायकरथी रघु भण्डारीले बताएका हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया