चितवन: चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउन चितवन राष्ट्रिय निकुञ्ज तयारीमा जुटेको छ ।
चिनियाँ पक्षले गैँडा बोक्न ढुवानी जहाजको प्रबन्ध र विमानस्थलमा अनुमति लिने काम गरिरहेको बताइएको छ ।
यसअघि असार २८ गते एक जोडी गैँडा चीन पठाइएको थियो । दोस्रो जोडी गैँडामध्ये एकदेखि डेढ वर्ष उमेरको भालेको नाम “सोल्टी” र डेढदेखि दुई वर्षको पोथीको नाम “मितिनी” राखिएको छ । बाटोका कारण दुई दिनअघि नै साउन २९ गते गैँडा काठमाडौँ पठाइँदै छ ।
निकुञ्जका अधिकारीले गैँडा मानिससँग घुलमिल भएकाले लैजान समस्या नहुने जनाएका छन् ।
दुई वर्षअघि चीन भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन स्वरुप अहिले गैँडा पठाउन लागिएको हो ।
चीनमा दुई जोडी गैँडा पठाएपछि यस निकुञ्जबाट हालसम्म उपहारस्वरुप विभिन्न देशमा पठाइएका गैँडाको संख्या ३० पुग्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया