वडामै भत्ता पाउँदा ज्येष्ठ नागरिकको झन्झट हट्यो

कञ्चनपुर । वडा कार्यालयबाटै सामाजिक सुुरक्षा भत्ता पाउन थालेपछि स्थानीय शुक्लाफाँटा नगपालिका–३ का कल्छु डगौरा टाढाको बैंकसम्म जानपर्ने झन्झटबाट मुक्त भएका छन्  । 
भत्ता बुझ्नका लागि सात किलोमिटर टाढाको बैंकसम्म पुग्नका लागि निकै सास्ती खेप्नु पर्दथ्यो, विगत सम्झदै उनले  भने, “घर नजिकैको वडा कार्यालयबाट भत्ताको रकम पाउन थालेपछि निकै सहज भएको छ ।” 

‘दुई घण्टा पैदल हिंडेर बैंक पुग्न पुग्नुपर्ने झन्झट अब भएन’, अर्का स्थानीयवासी पुरन चौधरीले भने, “बैंकमा जस्तो लाइनमा बस्नुपर्ने अवस्था पनि छैन, वडा कार्यालयबाटै भत्ता रकम पाइन्छ ।” 

ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, विधवा महिलालाई अहिले बैंकमार्फत नगरपालिकाले वडा कार्यालयमा सामाजिक सुरक्षाको रकम वितरण गर्ने व्यस्था मिलाएको हो । 

नगरपालिकाले आव ०७४ /७५ मा  सात करोड ८७ लाख ९३ हजार ६०० रकम सामाजिक सुरक्षा भत्तावापत वितरण गरेको छ ।

ज्येष्ठ नागरिक दलित ५६१ जनालाई  ६७ लाख ३२ हजार, ज्येष्ठ नागरिक एक हजार ५ सय ९१ जनालाई  एक करोड ९० लाख ९२ हजार, विधवा एक हजार ६ सय १० जनालाई  एक करोड ९३ लाख २० हजार रकम वितरण गरिसकेको छ । 

यसैगरी, पूर्ण अपांगता भएका १ सय ९३ जनालाई २७ लाख १२ हजार, अति असक्त अपांगता भएका १सय ४३ जनालाई १० लाख २९ हजार ६०० सय, पाँच बर्ष मुनिका दलित बालबालिकालाई पोषण भत्ता ७ सय ७४ जनालाई  ३३ लाख ८८ हजार र ज्येष्ठ नागरिक औषधि उपचार भत्ता दुई हजार १सय ३३ जनालाई दुई करोड ५५ लाख ९६ हजार रकम वितरण गरिएको छ । 

भत्ताको रकम वितरणको कार्यलाई घर दैलोमै पु¥याउनका लागि योजना बनाइरहेका छौँ नगर प्रमुख दिलबहादुर ऐरले भने, “घरघरमै भत्ताको रकम वितरणको कार्य गरिएपछि ज्येष्ठ नागिरकलाई सहजरुपमा सेवा पु¥याएको महसुस हुनेछ ।” 

टाढाको बैंकसम्म जानुभन्दा वडामै भत्ताको रकम वितरणको व्यवस्थाले केही सहज भएको उनको  भनाइ थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?