बालिका हत्याको अनुसन्धान तीव्र

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या घटनामा प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले अनुसन्धानलाई तीव्रता दिएको छ । 

घटनामा कञ्चनपुर प्रहरीको उदासीनता भएको भन्दै स्थानीयवासीले महेन्द्रनगरमा विरोध प्रदर्शन गर्दै दबाब दिएपछि सिआइबीको टोलीसमेत कञ्चनपुर पुगेर घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । 

घटनाको चार दिनपछि बालिकाको दाहसंस्कार गरिए पनि घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै यहाँ प्रहरीमाथि दैनिक दबाब बढेको छ । बिहीबार बिहानसमेत महेन्द्रनगरमा विद्यार्थीले निर्मलाका हत्यारालाई कानूनी दायरामा ल्याउनाका साथै सुरक्षाको प्रत्याभूत हुनुपर्ने माग गर्र्दै प्रदर्शन गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको बताउँदै उपलब्धि प्राप्त नभएको जानकारी दिए  । “ठूलो संख्यामा प्रहरी परिचालन गरेर विभिन्न कोणबाट अनुसन्धान हुँदैछ”, उनले भने, “तर अहिलेसम्म घटनाबारे केही उपलब्धि भएको छैन ।” 

त्यसैगरी मृतक बालिकाका आफन्तहरुलाई यहाँका स्थानीय तह र विभिन्न व्यक्तित्वबाट समेत सहयोग रकम प्रदान भइरहेको छ । घटनाबारे संघीय संसद देखि  प्रदेश सभासम्म भत्र्सना गर्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरिएको छ । मृतकका आफन्त र स्थानीयवासीले सुरक्षाका लागि चौकी स्थापनाको माग गर्दै भीमदत्तनगरपालिका केन्द्रित आन्दोलनसमेत थालेका थिए । 

स्थानीय सरस्वती माविमा कक्षा ९ मा अध्ययनरत बालिका पन्त साथीको घरबाट गृहकार्य गरेर घर फर्किने क्रममा गत शुक्रबार बेपत्ता भएकी थिइन् । उनको  शनिबार बिहान भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा शव भेटिएको थियो । बालिकाको बलात्कारपछि हत्या गरिएको हुनसक्ने आशंका छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?