बलात्कारपछि बर्बर हत्या

कैलाली– वडा कार्यालयको गणकमा छनोट भएको खबर लिएर घर पुगेकी दलित युवतीले आमासँग भनिन्, ‘मेरो नाम निस्कियो, अब तपाईंहरूका दुस्खका दिन गए ।’ तर त्यसको छैटौं दिन घरबाट निस्किएकी २० वर्षीया युवती कहिल्यै नफर्किने गरी बिदा भइन् ।

आजको कान्तिपुुर दैनिक लेख्छ–कैलाली, मसुरियास्थित जहरी कटानको दलितबस्ती (दुर्गाचोक) का ४२ दलित परिवारमा एसएलसी पास गर्ने उनी एक्ली थिइन् । उनी एसएलसी पास हुँदा जेठाबुबा खडकले नातागोता र आफन्तलाई भोज नै दिएका थिए । पढाइमा अब्बल उनले १२ को परीक्षा दिएकी थिइन् । वर्षौंदेखि थाइराइडको बिमारले थलिएका बुबालाई छोरीकै भर थियो । परिवारको मात्र हैन, गाह्रोसारो परेका बेला पूरै गाउँ–समाजले उनकै भरोसा गथ्र्यो । गौरीगंगा नगरपालिका–११ नम्बर वडा कार्यालयले गणकमा छनोट गरेका ३ जनामध्ये पहिलो नम्बरमा नाम निस्केपछि उत्साह चुलिएको थियो ।

तर अरू दिन साँझ नपर्दै फर्किने छोरी असार १२ मा अबेरसम्म घर नआएपछि बुबाले छरछिमेकमा सोधखोज गरे । दोस्रो दिन साँझसम्म वल्लोपल्लो गाउँ सोधपुछ गरे तर कतैबाट छोरीको खबर पाउन सकेनन् । तेस्रो दिन इलाका प्रहरी कार्यालय मसुरियामा छोरी बेपत्ता भएको जाहेरी दिए ।
प्रहरी अनुसन्धानपछि चपरथली जंगलको बीचमा गणेश बडुवाल, भुवन खाती र सुरज चौधरीले घेरा हालेर बलात्कार गरेको र पछि हत्या भएको खुल्यो । उनीहरूले बाटोबाट उठाएर जंगलभित्र लगी बलात्कार गरेका थिए । ‘चौथो व्यक्ति मनोज बोगटीले बलात्कार गर्ने क्रममा उनको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको छ,’ प्रहरी उपरीक्षक विनोद घिमिरेले भने । समूहमा तपेन्द्र बोगटीसमेत थिए ।

प्रहरीले उनीहरू सबैलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
मंगलबार अभियुक्तहरूमाथि जिल्ला अदालतमा थुनछेक बहस भई पुर्पक्षका लागि जिल्ला कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बलात्कार तथा हत्यामा संलग्नहरू कानुनी कारबाहीको दायरामा आएका भए पनि अभिभावक र आफन्तलाई छोरीको पीडाले पोल्न छाडेको छैन । प्रहरीका अनुसार मौजुदा कानुनअनुसार घटनामा संलग्नलाई ३२ वर्षसम्म कैद हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?