बुद्ध एयरद्वारा रात्रिकालीन उडानको घोषणा, मे १५ देखि नियमित उडान भर्ने

लोकपथ
952
Shares

काठमाडौं । बुद्ध एयरले रात्रिकालीन उडान सेवाको घोषणा गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आगामी मे १५ देखि रात्रिकालीन उडान विस्तार गर्ने घोषणा गरेको हो ।

कम्पनीका अनुसार साविकको उडान तालिकाका अतिरिक्त रात्रिकालीन उडानमा तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा उडान विस्तार गर्ने जनाएको छ । यी उडानका समयहरु राती ८ बजेदेखि १२ बजेसम्म रहनेछन् ।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ तराई क्षेत्रका विमानस्थलहरुमा दैनिक १८ घण्टासम्म उडान सेवा जारी राख्नेगरि रात्रिकालिन सेवामा जान हवाई कम्पनीहरुलाई निर्देशन गरेको थियो । तर, एकैपटक सेवा विस्तार गर्न नसकिने भन्दै कम्पनीहरुले सो निर्णयको विरोध जनाएका थिए । अन्तः सहमतिमा आएका हवाई कम्पनीहरुले क्रमशः सेवा समय विस्तार गर्दै लैजाने सहमति गरेका थिए ।

यद्यपि, दैनिक १८ घण्टा नै उडान सेवा विस्तारको घोषणा गर्ने पहिलो हवाई कम्पनी बुद्ध एयर बनेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले नागरिक उड्ययन प्राधिकरणको रात्रिकालीन उडान सेवा विस्तार गर्ने निर्णय स्वागत योग्य रहेको जनाउँदै आफ्नो नयाँ उडान तालिका सार्वजनिक गरेको हो ।

हाल कम्पनीको नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाको करिब १३ प्रतिशत रात्रिकालिन उडान रहेको छ । दैनिक कामकाजमा व्यस्त यात्रुहरुका लागि रात्रिकालिन उडान निकै आकर्षक हुने बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । रात्रिकालिन उडान बिहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने पनि कम्पनीले जनाएको छ ।

बुद्ध एयरले रात्रिकालिन उडान हुने गन्तव्यहरुमा त्यहाँको प्रदेश र स्थानीय सरकारले सार्वजनिक यातायातको सुविधाको लागि अनुरोध गरेको छ । यात्रुहरुको थप आउजाउले स्थानीयस्तरमै रोजगार सिर्जना हुने र राजस्व वृद्धिमा समेत उल्लेख्य भूमिका खेल्ने कम्पनीले जनाएको छ ।

हाल कम्पनीले पोखरा विमानस्थलसँग सबै प्रदेशबाट सिधा उडानले जोडिसकेको छ । यसको प्रत्यक्ष फाईदा व्यापारिक र विशेषगरि पर्यटकहरुलाई पुगेको कम्पनीले जनाएको छ । अब बुद्ध एयरले भैरहवा विमानस्थललाई पनि दोस्रो हबको रुपमा सबै प्रदेशबाट जोड्न लागेको जनाएको छ । यता, भैरहवाबाट पोखरा र भरतपुरको उडान भने बुद्ध एयरले सञ्चालनमा ल्याईसकेको छ ।

यस्तै, निकट भविष्यमै भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा क्रमशः उडान भर्ने योजना बुद्ध एयरको कम्पनीले जनाएको छ । उडानसँगै कम्पनीले आफ्नो भगिनी संस्था बुद्ध होलिडेजमार्फत पर्यटकहरुका लागि आकर्षक होलिडे प्याकेजहरु समेत प्रदान गरिरहेको गरिहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?