स्तनपान गराउनेको संख्या घट्दै

काठमाडौँ। स्वास्थ्य सेवा विभाग परिसरमा स्तनपान कक्ष स्थापना भएको छ । दुईजना महिलासम्मले सो कक्षमा आफ्ना शिशुलाई स्तनपान गराई सुताउनसक्ने छन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र राष्ट्र संघीय बालबालिका कोष (युनिसेफ)का प्रतिनिधि टोमो होजुमीले आज संयुक्त रुपमा सो कक्षको शुभारम्भ गरे ।

स्तनपानका लागि स्वास्थ्य निकायमा छुट्टै कक्ष स्थापना भएको यो पहिलो पटक हो । मन्त्रालय मातहतका स्वास्थ्य सस्था, अस्पतालले समेत छुट्टै स्तनपान कक्ष नरहेका बताइएको छ ।

अर्काेतर्फ, हालसम्म  पनि  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालयमा कार्यरत महिला कर्मचारीका लागि स्तनपान कक्ष छैन । कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले भने– “स्तनपानका लागि कार्यालयमा छुट्टै कार्यकक्ष स्थापना भएको छैन ।”

साथै नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवन तथा सिहदरबारस्थित सचिवालयको भवनमासमेत स्तनपान कक्ष छैन । पहिलो र दोस्रो संविधानसभा बैठकका समयमा भने महिला सांसदका लागि छुट्टै कोठाको व्यवस्था मिलाइको थियो । सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले भने, “संघीय संसद् भवन र सचिवालयमा स्तनपानका लागि छुट्टै कक्ष रहेको छैन ।”

उसो त त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तथा आन्तरिक विमानस्थलमा  ‘स्तनपान कर्नर’ रहेका छ । तर सबै यात्रुले देख्नसक्ने ठाउँमा सो कर्नर नरहेको बताइएको छ ।

पछिल्लो जनसाङ्ख्यीक सर्वेक्षण २०१६ का अनुसार नेपालमा पूर्णस्तनपान गराउनेको संख्या ६६ प्रतिशत मात्र रहेको छ । पूर्णस्तनपान भन्नाले शिशुको जन्म भएपछि एक घण्टाभित्रदेखि पाँचवर्षसम्मको स्तनपानलाई जनाउछ । अर्काेतर्फ शिशु जन्मेको एक घण्टाभित्र स्तनपान  गराउनेको संख्या ५५ प्रतिशत मात्र रहेको छ ।

सर्वेक्षणले स्तनपान गराउनु अघि दसजनामध्ये तीनजना शिशुलाई ध्यू,मह ,चिनी चटाउने गरेको देखाएको थियो । शल्यक्र्रिया गरेर जन्माइएका शिशुलाई भने आमाको दूघलाई प्रतिस्थापना गर्ने अन्य खुवाइने गरेको देखिएको छ ।

अर्काेतर्फ आमाको दूधलाई प्रतिस्थापना गर्ने बस्तु बिक्री वितरण गर्न सरकारले प्रतिबन्ध लगाएको छ । सो सम्बन्धी ऐन २०४९ र नियमावली २०५१ जारी भएको थियो ।

काठमाडौँ उपत्यकामा नै स्तनपानको अवस्था दयनीय

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले गरेको एक अध्ययनका अनुसार काठमाडौं उपत्यकाभित्र रहेका अस्पतालमा नै स्तनपान अवस्था गतिलो छैन । अध्ययनका अनुसार जन्मेको एकघण्टाभित्र स्तनपानको दर केवल ४१ प्रतिशत मात्र रहेको छ ।

यसैगरी शिशु जन्मने वित्तिकै आमाको नाङ्गो छातिमा टसाएर राख्ने दर केवल नौ प्रतिशत छ । शिशु र आमाबीचको भावनात्मक सम्बन्धलाई बढाउन, शिशुको स्वास्थ्य प्रवद्र्धन गर्न यसले सहयोग गर्ने  स्वास्थ्य विज्ञ अतुल उपाध्याय बताउँछन् ।

उनी भन्छन्, “स्तनपान सबैभन्दा पुरानो र पहिलो खोप हो, जन्मेको एक घण्टाभित्रदेखि छ महिनासम्म स्तनपान मात्र, दुई वर्षदेखि स्तनपानका साथमा अन्य खानेकुरा खुवाउनाले आमा र शिशुको स्वास्थ्य राम्रो हुन्छ । ”

‘स्तनपान :  जीवनको मूल’ आधार भन्ने नाराका साथ यसवर्ष स्तनपान दिवश साताव्यापि रुपमा मनाइँदै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?