आठ वर्ष बित्यो पुल बनेन : जोखिमपूर्ण यात्रा डुङ्गाको सहारा

परासी । तीन वर्षमा बन्ने पुल ८ वर्ष बितिसक्दा पनि बन्न सकेको छैन । पश्चिमी नवलपरासीको सरावल गाउँपालिका ६ बटसार टोल र महेसपुर बजार जोड्ने पुल ८ वर्षमा पनि बन्न नसकेपछि स्थानीयहरु वर्षायाममा जोखिमपूर्ण यात्रामा डुङ्गाको सहारा लिन बाध्य भएका छन् ।

चुरे पहाड हुँदैै बगेको पानभार खोला तल झरही भई बगेको छ । उक्त झरही खोलामा बन्न लागेको पुल ८ वर्ष बितिसक्दापनि अझै पुल बन्न सकेको छैन ।  

अधुरो पुलका कारण वर्षायाममा स्थानीय जनताहरु नजिकै रहेको भारतको ठुठिबारी बजार, महेसपुर बजार र सो क्षेत्रमा आवत जावत गर्न कठिनाई भैरहेको बताउँछन् । पुल नबन्दा स्थानीय विद्यार्थीहरुपनि डुंगा चढेरै विद्यालय जाने गरेको स्थानीय हरिराम यादवले बताए । 

वि.सं २०६६ सालमा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री बिजय कुमार गच्छदारले ३ वर्षमा निर्माण हुने गरि पुलको शिलन्यास गरेका थिए । तर ठेकेदार कम्पनीको लापरवाहीले ८ वर्षमा पनि पुल बन्न सकेन ।

जिल्लाको भुताहांदेखि महेशपुर सडकखण्ड अन्तर्गत बडसार झरही नदिमा पर्ने उक्त निर्माणाधिन पुल १ सय २५ मिटर लम्बाई र ७ मिटर चौंडाई रहेको छ ।

बिल्डर्स कन्सट्रक्सन कम्पनीले ७ करोड ८ लाखमा पुल निमार्ण गर्ने ठेक्का लिएको थियो । ठेकेदारले कहिले भूम्पको नाममा त कहिले नाकाबन्दी, वर्षा र विभिन्न आम हडतालको बहानामा उक्त पुलको निर्माण कार्य ढिलो भएको सफाई दिन्छ । पुलमा अझै ४० प्रतिशत कार्य हुन बाँकी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?