प्रधानन्यायाधीशमा जोशीको नामलार्इ दुर्इ तिहार्इबाट अस्वीकृत गर्ने सत्तापक्षको तयारी

काठमाडौं : सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) ले दीपकराज जोशीलार्इ प्रधानन्यायाधीश हुनबाट रोक्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलार्इ अनुरोध गर्ने र सहमति नभए संसदीय सुनुवार्इ विशेष समितिमा दुर्इ तिहार्इ मत जुटाउने भएको छ । सुनवार्इ समितिको बैठक अाज बस्दैछ ।

हाल सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश जोशीको जन्ममिति, शैक्षिक योग्यताको प्रमाणपत्र र महत्वपूर्ण मुद्दामाथि उनले गरेका फैसलाहरू समेत विवादित देखिएपछि जोशीलार्इ सर्वसम्मत या दुर्इ तिहार्इ मतकै प्रयोग गरेर भएपनि प्रधानन्यायाधीश हुनबाट रोक्ने तयारी सत्तापक्षको छ । 

जोशीले ६ दिन अघि नै विशेष समितिमा अाफ्नो सुनुवार्इ दिर्इसकेका छन् । तर, त्यसयता जोशीबारे दैनिकजसो विवादित तथ्यहरू सार्वजनिक हुन थालेपछि सत्तापक्ष उनलार्इ प्रधानन्यायाधीश हुनबाट रोक्ने मनस्थितीमा पुगेको हो । सुनुवार्इ भएको ६ दिन बितिसक्दा पनि समितिले जोशीको नाम स्वीकृत वा अस्वीकृत गर्नेबारे टुंगो लगाउन सकेको छैन । 

प्रमुख प्रतिपक्षी कांग्रेसका केही नेताले जोशीलार्इ नै प्रधानन्यायाधीश बनाउनुपर्ने जिकिर गरिरहेका छन् भने जोशीको विरूद्दमा कांग्रेसका कुनै नेताले हालसम्म मुख खोलेका छैनन् । संसदीय समितिमा रहेका कांग्रेस पक्षका संसदहरूले पनि जोशीको नामबारे पार्टी छलफल गर्नुपर्ने भन्दै बैठकमा अाफ्नो निर्णय दिर्इसकेका छैनन ।

जोशीसँग प्रवेशिका परीक्षा (एसएलसी) कै दुर्इवटा प्रमाणपत्र रहेको तथ्य सार्वजनिक भएको छ । उनले काठमाडाैंको विजय मेमोरियल स्कुल र नेपाल राष्ट्रिय विद्यापीठबाट २०२७ सालमा प्रवेशिका परीक्षा दिएको प्रमाणपत्र भेटिएको छ । ती प्रमाणपत्रम जन्ममिति समेत फरक-फरक रहेको पार्इएको छ । विजय मेमोरियलबाट प्राप्त गरेको भनिएको प्रवेशिकाको प्रमाणपत्रमा जोशीले २०११ कात्तिक २४ गतेको जन्ममिति उल्लेख गरेका छन् । तर उनका अन्य कागजातमा भने २४ असोज २०११ को जन्ममिति उल्लेख छ । 

संसदीय सुनुवार्इ समितिमा बुझाएको प्रमाणपत्र नै फर्जी रहेको भन्दै सत्तापक्ष (ने.क.पा.) का सांसदहरूले उनलार्इ कुनै हालतमा प्रधानन्यायाधीश बनाउन नहुने बताएका छन् । संसदीय समितिका १५ सदस्यमध्ये (ने.क.पा.) का ९, अर्को सत्तासाझेदार समाजवादी फोरमका १, प्रमुख प्रतिपक्षी कांग्रेसका ४ र राजपाका १ सदस्य छन् । 

जोशीको नामलार्इ अस्वीकृत गर्न समितिमा रहेका कम्तीमा दुर्इ तिहार्इ सदस्यको मत अावश्यक पर्छ । यस हिसाबले सत्ताधारी (ने.क.पा.) र समाजवादी फोरमसँग रहेको १० मत पर्याप्त हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?