झापा : बिर्तामोडमा चार वर्षदेखि सञ्चालित बीएण्डसी हस्पिटल ‘मेडिकल कलेज’को सम्बन्धन पर्खिरहेको छ ।
झापा, इलाम, पाँचथर र ताप्लेजुङका २६ लाख बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र रोजगारी दिलाउने लक्ष्य बोकेर २०७१ साल फागुन १८ गतेदेखि बीएण्डसी मेडिकल कलेज टिचिङ एण्ड रिसर्च सेण्टर प्रालिले स्वास्थ्य सेवा शुरु गरेको हो । मेची अञ्चलको मुख्य व्यापारिक केन्द्र बिर्तामोड–५ मा बीएण्डसी हस्पिटल मेडिकल कलेजको पठनपाठन सञ्चालनका लागि मेचीनगर नगरपालिका वडा नं। ११ धाइजनमा बेसिक साइन्स भवन बनेको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका युवा नेता योगेशकुमार भट्टराई र नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्माले हस्पिटलको संयुक्त रूपमा उद्घाटन गरेका थिए । युवा व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा स्थानीय लगानी र बैङ्कको कर्जा गरी रु छ अर्ब बीएण्डसी मेडिकल कलेज टिचिङ एण्ड रिसर्च सेण्टर प्रालिमा हालसम्म लगानी भइसकेको प्रालि सञ्चालक समितिका अध्यक्ष इन्दिरा गिरीले बतार्इन् । गिरीका अनुसार मेची अञ्चलमा एउटा अत्याधुनिक सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने उद्देश्य राखेर नै बीएण्डसी हस्पिटलको स्थापना गरिएको हो ।
चार वर्षको दौरानमा हस्पिटललाई पूर्वकै सबैभन्दा सुविधासम्पन्न र अत्याधुनिक प्रविधियुक्त बनाउन सकिए पनि चिकित्सा शिक्षा प्रदान गर्ने योजना भने मुलुकको राजनीतिक उतारचढाव र चिकित्सा शिक्षासम्बन्धी अस्थिर नीतिका कारण अपूरै रहेको गिरीको भनार्इ छ।
प्रा डा गोविन्द केसीसँग भएको नौबुँदे सहमतिमा काठमाडौं उपत्यका बाहिरका आशयपत्र पाएर पूर्वाधार खडा गरिसकेका अस्पताललाई मेडिकल कलेज सञ्चालन गर्न दिन सकिने उल्लेख भएपछि बीएण्डसी हस्पिटलका सञ्चालक र झापावासीले अब छिट्टै बीएण्डसीलाई मेडिकल कलेजका रूपमा देख्न पाउने आशा व्यक्त गरेका छन् ।
“हामी दुई वर्षअघिदेखि नै मेडिकल कलेज सञ्चालनका लागि तयार भएर बसेका छौँ”, बीएण्डसी मेडिकल कलेज टिचिङ एण्ड रिसर्च सेण्टर प्रालिका प्रिन्सिपल प्रा डा उमेशकुमार शर्माले भने, “मेडिकल कलेजमा आवश्यक हुने सबै पूर्वाधार यहाँ निर्माण भइसकेको छ ।”
नेपाल मेडिकल काउन्सिलबाट खटिएको अनुगमन टोलीले बीएण्डसीको बेसिक साइन्स भवन, ल्याव, लेक्चरर क्लासरुमलगायत सबै पूर्वाधार तयार भइसकेको भनी गत वर्ष नै प्रतिवेदन बुझाइसकेको प्रा डा शर्माले जानकारी दिए । उहाँका अनुसार सरकारबाट २०६८ माघ २४ गते मेडिकल कलेज स्थापनाका लागि आशयपत्र पाइसकेको र तोकिएका मापदण्डसमेत पूरा गरिसकेको हुँदा मेडिकल कलेज बन्न बीएण्डसी हस्पिटल पूर्णरुपले योग्य भइसकेको छ ।
स्वास्थ्य तथा जनसङ्खया मन्त्रालयबाट बीएण्डसी हस्पिटलले २०७३ साउन ९ गते ३०० शय्याको अस्पताल सञ्चालनको स्वीकृति पाइसकेको छ भने २०७१ मङ्सिर १७ गते तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट ९०० शय्याको मेडिकल कलेज परियोजनाका लागि वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भइसकेको छ ।
हस्पिटलका मेडिकल डाइरेक्टर डा रोहितप्रसाद यादवका अनुसार ३०० शय्याको बीएण्डसी हस्पिटलमा न्यूरो, अर्थोपेडिक्स, अर्बुदरोग, स्त्रीरोग, दन्त, नाक– कान– घाँटीलगायत २२ उपचार विभाग छन् भने ५० शय्याको आकष्मिक सेवा सञ्चालन भइरहेको छ ।
निजी क्षेत्रको लगानीमा झापामा मेडिकल कलेज बनाउने परिकल्पना बिर्तामोड–५ निवासी दुर्गा प्रसाईँले गरेका हुन् । पूर्व माओवादी कार्यकर्ता प्रसाईँ २०६५ सालतिर महँगो मूल्याङ्कन हुने बिर्तामोडमा रहेको आफ्नो पैतृक जग्गा धितो राखेर मेडिकल कलेज निर्माण गरेको बताएका छन् ।
अहिले हस्पिटलमा ११० कन्सल्टेण्ट डाक्टरसहित ८७१ कर्मचारीले प्रत्यक्ष रोजगारी पाइरहेको प्रसाईँ बताउँछन् ।मेडिकल कलेज बन्नका लागि आशयपत्र पाएको हुनुपर्ने, वातावरणीय प्रभाव मूल्याङ्कन गरेको हुनुपर्ने, भूकम्प प्रतिरोधी भवन निर्माण भएको हुनुपर्ने, ३०० शैय्याको सञ्चालन स्वीकृति पाएको हुनुपर्ने र अस्पतालका नाममा कम्तीमा १६ बिघा जग्गा दर्ता हुनुपर्ने सरकारी मापदण्ड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया