रसुवामा निर्वाचन सामग्रीसहित सबै मतदान केन्द्रमा कर्मचारी पुगे

लोकपथ
130
Shares

रसुवा । स्थानीय तहको निर्वाचनका लागि रसुवाका सबै मतदान केन्द्रहरुमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् ।

जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरी पठाइएको हो । मतदान केन्द्रमा पुगेका कर्मचारीले मंगलबारबाटै निर्वाचनको आवश्यक प्रक्रिया सुरु गरेको समेत थापाले जानकारी दिए । सर्वदलीय बैठक बस्ने, सुचना टाँस गर्ने, लगायतका गतिविधिहरु सुरु गरेका छन् ।

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा स्वयमसेवम सहित ४ सय १० जना कर्मचारी खटाइएको छ । निर्वाचन गराउन खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार तालिम प्रदान गरि खटाइएको हो । जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाको उत्तरगया गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, कालिका गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, गोसाइँकुण्ड गाउँपालिकामा ८ वटा मतदान स्थल र ९ वटा मतदान केन्द्र, नौकुण्ड गाउँपालिकामा ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तथा आमाछोदिङ्मो गाउँपालिकामा ६ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?