– युवराज पंगाली
सुर्खेत । सरकार अधिनायकवादी भएको भन्दै नेपाली कांग्रेस सुर्खेतले मंगलवार सुर्खेतमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।
कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानीले वर्तमान सरकारले लोकतन्त्र खोस्न लागेको भन्दै यसरी लोकतन्त्र चल्न नसक्ने हुँदा सरकारलाई सचेत गराएका थिए । उनले विमानस्थलबाट विश्वविद्यालय का उपकूलपतिलाई पक्राउ गरी फिर्ता गराउनु, सरकारविरुद्ध सुन्न नसकेर सार्वजनिक स्थानहरुलाई निषेधित क्षेत्र घोषणा गर्नु, जनताविरुद्ध विभिन्न कर र महँगी थोपर्नुले यसरी लोकतन्त्र नचल्ने दावी गरे ।
उनले भने, ‘यदि यस्तै गर्ने होभने प्रमज्यू, लोकतन्त्र यसरी चल्दैन ।’
साथै उनले वर्तमान सरकार जनताको पक्षमा नभएको आरोप पनि लगाए । जनताका लागि सबैभन्दा धेरै लडेको कांग्रेसलाई अपमान गरेको भन्दै केपी शर्मा ओलीप्रति आक्रोश पोख्दै नेता थानीले कांग्रेसका विरुद्ध धेरै खिसीट्युरी नगर्न चेतावनी दिए ।
उनले जसले कांग्रेसलाई खिसीट्युरी गर्छ, तिनीहरु नै सक्किएको भन्दै राणा, राजा, पंचायतले यही कांग्रेसलाई खिसीट्युरी गर्दा कांग्रेसले सकेको र केपी ओलीले पनि धेरै खिसीट्युरी गरे उनीपनि सकिने जिकिर गरे । साथै बारम्बार कांग्रेससंग निहुँ नखोज्न पनि उनले चेतावनी दिए ।
नेता थानीले चुनावमा कांग्रेसको थोरै सिट आयो भनेर नहेप्न र चिन्ता नलिन समेत केपी ओली र प्रचण्डलाई सुझाव दिए । कांग्रेस कोहीसंग पनि नडराउने भन्दै जो जोले कांग्रेससंग निहुँ खोज्छ, तिनीहरु नै सक्किने उनको भनाइ छ ।
यसैगरी नेता थानीले तत्कालीन माओवादी केन्द्र र त्यस पार्टीका नेता पुष्पकमल दाहाल प्रचण्डतर्फ इंगित गर्दै यदि कांग्रेसले जंगलबाट उनीहरुलाई सिंहदरवार नल्याएको भए आजसम्म कहाँ छन् भनेर खोज्नुपर्ने थियो भने । जुन पार्टीले जंगलबाट लोकतन्त्रमा ल्यायो, आज उसैले कांग्रेसलाई हेप्ने भन्दै थानीले अझैपनि चेतिन आग्रह गरे । साथै उनले वर्तमान सरकारले तानाशाही प्रवृति फिर्ता गर्न समेत जोड दिए ।
कार्यक्रममा पूर्व संचार राज्यमन्त्री तप्तबहादुर विष्टले जनताको लोकतान्त्रिक अधिकारमाथि वर्तमान कम्युनिष्ट सरकारले धावा बोलेको आरोप लगाए । उनले सरकार अधिनायकवादतर्फ अघि वढ्दै गए कांग्रेस चुप लागेर नबस्ने चेतावनी समेत दिए । महंगी, भ्रष्टाचार र कालोबजारी बढ्दै गएकोमा उनले त्यसप्रति सरकार मुकदर्शक भएर बसेको आरोप लगाए ।
कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस सचिव भूपेन्द्र खत्री, वीरेन्द्रनगर नगरपालिका प्रमुख एवं कांग्रेस नगर सभापति देवकुमार सुबेदीले, महिला संघका अध्यक्ष पार्वती गिरीलगायतले सरकारले दुई तिहाइको आडमा निरंकुश ढंगले अघि बढेको बताएका थिए । कार्यक्रम अघि मंगलगढी चोकबाट सरकार विरुद्ध विभिन्न नारा लगाउँदै बजार परिक्रमा गरिएको थियो ।
स्थानीय मंगलगढी चोकबाट ¥यालीसहित बजार परिक्रमम गरी पिपलचौतारामा पुगेर सभामा परिणत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया