आफूमात्रै होइन आफ्नो टिम जिताउन लाग्नुस् : प्रकाशमान सिंह

लोकपथ
78
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा आफ्नो टिमलाई जिताउन लाग्न सबै लाई आग्रह गरेका छन् ।

मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफूलाई मात्रै नभएर सबै आफ्नो टिमका उमेदवारहरुलाई भोट माग्न कार्यकर्ताहरुलाई आग्रह गरे। ‘यो बहुदल अन्तर्गतको चुनाव हो’ उनको भनाइ छ, ‘यहाँ टिमलाई भोट माग्ने काम गर्नुपर्‍यो । वडाध्यक्षहरुले आफ्नो वडासदस्य, मेयर र उपमेयरलाई भोट मागेर अगाडि जानुपर्छ ।’

चन्द्रागिरिमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको छ । प्रमुखमा कांग्रेसबाट घनश्याम गिरि र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाबाट रोसन दानी उपप्रमुख उम्मेदवार छ ।

सिंहले एक्लै जितेर मात्रै काम गर्न असहज हुने भएकाले टिम नै जिताउने गरि लाग्नु पर्ने समेत बताए । ‘३० गते आफ्नो टिम, मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यलाई जिताउने गरि प्रचारप्रसार गर्नुभयो भने राम्रो हुन्छ ।’

गठबन्धन किन भन्ने बुझ्न आवश्यक भएको भन्दै सिंहले नेपाली कांग्रेसले सबैलाई मिलाएर संविधान सभाबाट संविधान जारी गरेको स्मरण गर्न समेत आग्रह गरे।

‘गठबन्धन किन भयो भन्ने कुरा बुझ्न आवश्यक छ। हामी सबैले याद गरौं, प्रथम संविधासभाबाट जारी गर्न नसकेको संविधान दोस्रो संविधानसभाबाट कांग्रेसको नेतृत्वमा सबैलाई समन्वय गरेर २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरेको हो नि ।’, उनले भने ।

त्यस्तै ओलीले पटक पटक संविधान र व्यवस्था माथि प्रहार गरेकाले संविधान र व्यवस्था जोगाउन गठबन्धन गर्नु पर्ने बाध्यता रहेको कुरा बुझ्न समेत आग्रह गरेका छन् । ‘अब हामी सबै एक भएर कांग्रेसका उमेदवारहरुलाई जिताउ त्यसो भयो भने व्यवस्था जोगिन्छ संविधान सहि बाटो बाट हिडाउन सकिन्छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?