मापदण्ड मिचेर खनिएका रोल्पाका सडकमा दुर्घटना बढ्यो

रोल्पा : मापदण्डविना खनिएका जिल्लाका सडकमा सवारी दुर्घटना बढिरहेको छ । अधिकांश ट्याक्टरका कारण दुर्घटना हुने गरेको छ । मापदण्डविना स्थानीय उपभोक्ताले आफूखुशी सडक निर्माण गर्दा दुर्घटना बढ्दै गएको हो । 

जिल्लामा आर्थिक वर्ष २०७२/७३ मा २० वटा दुर्घटनामा परी सात जनाले ज्यान गुमाएका थिए भने १२ जना गम्भीर तथा २२ जना सामान्य घाइते भएका थिए । आव २०७३/७४ मा ३६ वटा सडक दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको थियो भने २७ गम्भीर तथा २७ जना समान्य घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार दिवाकर वलीले जानकारी दिए। 

यस्तै आव २०७४/७५ मा ३० वटा सडक दुर्घटना भएकामा १४ जनाको मृत्यु तथा १८ गम्भीर र २९ जना सामान्य घाइते भएका थिए । ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढी रहेको वलीले बताए । भौगोलिक बनावट अनुसारको मापदण्डविना जथाभावी रुपमा सडक खनिएका कारण सवारी दुर्घटना बढ्दै गएको छ । 

साँघुरा सडक तथा ती सडकमा मोडमा दुर्घटना बढी हुने गरेको पाइएको छ । भर्खर ट्र्याक खोलिएका सडकमा अत्यधिक भारसहितका ट्याक्टर चलाउँदा दुर्घटना निम्तिने गरेको वली बताउँछन् । “शिकारु चालकका कारण समेत बढी दुर्घटना हुने गरेको पाइएको छ,” उनले भने । 

दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनका धनी, चालक र परिचालकलाई समय समयमा सचेत गराउने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सामान ढुवानी गर्ने ट्याक्टरमा यात्रु बोक्नमा कडाइ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?