काठमाडौं । केशव स्थापित अधिकांश महानगरवासीले सुनेको नाम हो । अझ काठमाडौं महानगरवासीका लागि त पूर्व मेयर साबबाट उनी परिचित छन् । उनले यसअघि मेयर हुँदा गरेका कामहरुको आधारमा महानगरवासीले उनले काम गर्न सक्छन् भन्ने आशा गरेका छन् । यसअघि उनी दुईपटक काठमाडौं महानगरपालिकाको मेयर भएका छन् ।
मेयरमा उनी पहिलो पटक वि.स. २०५४ सालमा मेयरमा निर्वाचित भएका थिए । उनी खेलकुद् परिषद्को सदस्यसचिव, उपत्यका विकास प्राधिकरण प्रमुख, बागमती प्रदेशका लागि भौतिक योजना तथा विकास मन्त्रीसमेत बनिसकेका स्थापितले मेयर हुँदा उनले केही सुधारका कामहरु गरेका थिए । तिनै स्थापित यसपटक नेकपा एमालेको तर्फबाट पुनः काठमाडौं महानगरपालिकाको लागि मेयरमा उम्मेदवार बनेका छन् । उनको मुख्य प्रतिस्पर्धीको रुपमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी नेतृ सिर्जन सिंह रहेका छन् । स्थापितसँगै काठमाडौं महानगरपालिकाको उपमेयरमा पूर्व मिस नेवा सुनिता डंगोलाई एमालेले उभ्याएको छ ।
मेयर स्थापितलाई विकास निर्माणको काममा साथ दिन युवा पुस्ताहरुलाई अघि सारेकोले पनि आफूलाई काम गर्नको लागि सहज हुने स्थापित बताउँछन् । निर्वाचनको विषयमा सोमबार भएको कुराकानीमा मेयरका उम्मेदवार स्थापितले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । उनले आफ्नो प्रतिस्पर्धी बिना कुनै योजना बोकेर महानगरको दाबी गर्नाले राजधानीबाट अन्य क्षेत्रमा जानुपर्ने सन्देश देशव्यापी बन्न नसक्ने बताए । उनले बिना कुनै एजेण्डाका प्रतिष्पर्धी आउँदा २० वर्षको शिक्षा दिनुपर्ने राजनीतिक अवसर गुमाउने दाबी गरे ।
मेयरका उम्मेदवार स्थापित भन्छन्, ‘घरदैलो कार्यक्रम गर्दा माहोल एकोहोरो हाम्रो पक्षमा छ । यसलाई आफ्नो दर्शन, पार्टीको आधारमा संगठन बोकेर नीति, कार्यक्रम काठमाडौं कस्तो बनाउने भनेर सार्वजनिक मञ्चमा आउने प्रतिस्पर्धी नै पाइएन । अहिलेको मलाई लागेको खल्लो पन के हो भने अर्को पक्ष पनि यसरी प्रश्तुत भएको भए हाम्रो विचार, दर्शनको कुरा, कार्यक्रमको कुरा, शहरी योजनाको कुरा देशव्यापी जान्थ्यो । यसले राजधानीबाट अन्य क्षेत्रमा शिक्षा जान्थ्यो । मैले त अर्को पक्ष देखेकै छैन । समग्र होलस्टिक कुरा लिएर आएकै छैन । एउटा चुनावले २० वर्षको एजुकेशन दिनुपर्नेमा यसलाई हामी गुमाउँदै छौँ ।’
उनले सार्वजनिक कार्यक्रमहरुमा समेत गठबन्धनका उम्मेदवार आफूभन्दा कमजोर प्रतिस्पर्धीको संज्ञा दिँदै आइरहेका छन् । उनले यसअघि मेयर बन्दा पनि आफूले काम गरेर देखाएकोले अहिले काम गर्न सक्नेमा विश्वस्त रहेको बताए । अहिलेको युवा पुस्तालाई लिएर उनीहरुको योजनाअन्तर्गत जाँदा शहरले विकासको नयाँ रुप पाउनेमा उनी विश्वस्त रहेका छन् । स्थानीय तहलाई शक्ति सञ्चालनको अधिकार दिएन भने विकासमा बाधा पुग्ने उनको भनाइ छ । उनले स्थानीय सरकार भनेपनि अझै शक्ति सञ्चालनको अधिकार हस्तान्तरण हुन नसक्दा सेवा बिस्तार हुन नसकेको बताए । मेयरमा जितेपछि अहिलेको राजश्व भन्दा १० गुणा बढी राजश्व उठाएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले आफू मेयर भएको भोलिपल्टबाट नै आम नागरिकका समस्याको सुनुवाई गर्ने पनि बताए ।
मेयरका उम्मेदवार स्थापितले भने, ‘मैले यसअघि गरेका कामहरुको अनुभव भन्दा यो सतीले सरापेको देश केही हुँदैन भन्थे तर एउटा मान्छे भयो भने बन्दो रहेछ । अहिलेको पुस्ता धेरै परिवर्तन भइसकेको छ । अहिलेको पुस्ताले जातभात मान्न कम गरिसकेको छ । यस्तो अवस्थामा यो पुस्ताले सयमाथि फोरम खोलेर अन्तर्राष्ट्रिय स्तरको विकास गरेर देखाउनु पर्छ । यो काम गर्नको लागि हामीले अब उनीहरुलाई जिम्मवारी दिन सक्नुपर्छ । हामीले पावर डेभलिङ प्रोसेस सुरु भएको मान्नुपर्छ यसलाई । अहिले पनि महानगरपालिकाहरु स्थानीय सरकार भनेपनि पावर डेभलप भएको छैन । मैले त्यसमा ४ अर्बले पुग्दैन विकासका लागि ४० अर्ब दिनुपर्छ भन्न पाउनुपर्छ । हामीले आफ्नो मातहतमा पशुपति क्षेत्र विकास कोष, सडक विभाग, विद्युत आदि कुराहरु राख्यौँ भने आफू अनुकुलमा विकासका कार्यक्रम गर्न पाउँछौँ । अहिलेको तुलनामा राजश्व १० गुणा बढी उठायौँ भने अनि न सेवा गर्न पाइन्छ । पावर डेभलप गर्ने प्रोसेस काम अब महानगरपालिकाले पाउनु पर्छ अनि मात्रै विकास गर्न सकिन्छ । काम गर्नुपर्छ भन्ने अनि अर्कै निकायले हेर्ने यसरी त विकास हुन गाह्रो छ । मेयर सरल हुनुपर्छ, कमी कमजोरी भएपनि सच्याउन सक्नुपर्छ । एकदिन हामीले जित्छौँ, त्यसपछि सगुन मनाउने होइन, सेलिब्रेशन गर्ने होइन पहिलो दिनबाट नै नागरिकका समस्याको सुनुवाई हुन्छ । सभागृहमा हरेक दिन बिहान हुन्छ । सबैलाई आउने वातावरण हुनुपर्छ । भएका साना गुनासाहरुलाई शुद्धीकरण गर्नुपर्छ ।’
मेयरका उम्मेदवार स्थापितले काठमाडौं महानगरपालिका भित्र रहेका केही सांस्कृतिक सम्पदाहरु लोप हुन लागेको भन्दै ४८ वटा सम्पदाहरुको एकैपटक जग हालेर काम सुरु गर्ने बताए । उनले काठमाडौं वरिपरि रहेका केही स्थानमा पार्कहरु बनाएर त्यसलाई ६ महिनाभित्रमा सम्पन्न गर्ने र त्यहाँ युवाहरुले जीवनको कथा लेख्न सक्ने वातावरण सिर्जना गर्ने बताए । उनले सरकारले सार्वजनिक ठाउँमा शौचालय नबनाउने र दिशापिशाव गर्दा कारबाही गर्ने गरेको भन्दै पहिला शौचालय बनाएर मात्रै नियम कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले पार्कको समस्याहरु लगायतका अन्य समस्याहरुको समाधान गर्ने कार्य आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । उनले केशव स्थापित भन्दा अहिले पनि मेयर साबको नामबाट आफू परिचित रहेकोले मेयरकै हिसावमा काम गरेर देखाउने बताए । उनले हामीसँगको कुराकानीमा मेयरका उम्मेदवार उनले गाली सहेर भएपनि विकासका काम पछि नपर्ने तरिकाबाट आफूले योजना बनाएको बताए ।
उनले भने, ‘मैले अहिले ४८ वटा मानिसहरुले बिर्सिसकेको मन्दिर छानेको छु । त्यो २०९० सालको भूकम्प गएपछि कसैले विषय नै उठाएको छैन । ती ४८ वटाको जग म एकैपटक हाल्छु । यो काठमाडौंमा म ६ महिनाभित्रमा विभिन्न पार्कहरु बनाउँछु । त्यहाँ युवाहरुले जीवनको कथा हाल्नुपर्छ । शौचालय नबनाउने अनि पिशाव फेरे कारबाही गर्ने भन्ने हुन्छ ? मोटरसाइकल पार्किङस्थल नबनाउने अनि पार्किङ ग¥यो भनेर समात्ने हुन्छ ? सबै बनाउनुपर्छ नि । म यसबारेमा विभिन्न फोरम बनाएर काम गर्छु । मसँग ब्याकअप टिम छ । देशकै राम्रा मानिसहरुले मलाई साथ दिनुभएको छ । पूर्वाधार विकासका कारण नै मलाई अहिले पनि मेयर साब भन्छन् । विष्णुमती रोड बनाउँदा पनि ढुंगा हानेका थिए । अहिले बन्यो । सहेकै हो । धोबी खोला खोल्दा पनि सहेकै हो । कसैले मानेका थिएनन् । बागमती करिडोर खोल्यौँ दायाँबायाँ । काठमाडौं उपत्यका विकास प्राधिकरण महानगरको मातहतमा हुनुपर्छ । त्यो हाम्रो मातहतमा आएपछि एउटा स्तरबाट प्लान हुन्छ । पब्लिक स्पेस सबै सरकारको मातहतमा भएपछि सार्वजनिक शौचालय कहाँ बनाउने ? ५० ठाउँ जति सरकारले अधिग्रहण गर्नुपर्छ । हामी ल्याण्डको प्राइज तिर्छौं ।’
उनले अहिले पनि २ सय ५० भन्दा धेरै (खाली जग्गा) सरकारी सम्पति पर्खाल लगाएर राखेकोले त्यसलाई भत्काएर नयाँ संरचना बनाउने बताए । उनले सबै क्षेत्रलाई ठाउँ मिल्ने गरेर कार्यक्रम बनाउने घोषणा गरे । काम गर्न सरकारीतर्फबाट व्यवधान आए अदालतबाट न्याय खोजेर भएपनि काम गर्ने उनको प्रतिबद्धता छ । उनले आफूसँग विकासको कला भएकोले त्यस बारेमा गहन अध्ययन गरेको र त्यसैअनुसार कांग्रेस, कम्युनिस्टको सोचलाई हटाएर शहर विकासको परियोजना अन्तर्गत काम गर्ने बताए । मेयरका उम्मेदवार स्थापितले आफूलाई विश्वास गरेर भोट दिन आग्रह गर्दै महानगर बनाउने जिम्मा आफ्नो भएको बताए ।
मेयरका उम्मेदवार स्थापितले भने, ‘साढे २ सय वटा पर्खालले घेरेको सरकारी सम्पति छ । किन चाहियो । त्यहाँ भ्रष्टाचार गर्न, अरु गर्न ? नहुने कुनै कर्म गर्नु छ र घेरेको ? पर्खाल फोरेर ट्युबहरु गज्जबको बनायो । पानीको फोहोरा, हरियाली फूलहरु । मान्छेको मन खुशी हुन्छ नि । राजदरबारको ६ सय रोपनीको पर्खाल खोलेपछि काठमाडौंको स्वरुप कस्तो होला ? अबको योजना पप्पुले पाउँदैन । सबै क्षेत्रलाई पहिला स्पेस क्रिएट गर्छु । वातवरण सिर्जना गरेर काम गर्ने हो । काम गर्न रोकियो भने अदालतमा न्याय खोज्न जाने हो । मलाई शहर विकास गर्न यति क्षेत्राधिकार चाहियो भन्ने हो । अदालत त मान्य हुन्छ, देश विकासका लागि काम गर्छु भन्दा नदिने कुरा हुँदैन । म प्रमाणित मान्छे हो । म पहिला काम गरेर देखाउँछु अनि सबैले भन्नेछन् यसले काम गर्छ भनेर । मैले मण्डला बनाएँ । राती चिसो केही नभनीकन आफैँ उभिएर बनाएको हो । म काठमाडौंलाई बनाउन सक्छु । मसँग त्यो कला छ । आम मानिसलाई सेवा गरेर नै म यो पार्टी कांग्रेस कम्युनिष्ट भन्ने सोच हटाउनेछु । मसँग दुष्ट्याँइ गरेपछि धेरै गाह्रो हुन्छ, त्यसैले मलाई विश्वास गर्नु म महानगर बनाउँछु ।’
स्थापितले महानगरले उठाउन बाँकी ४८ अर्ब राजश्व रहेको आफ्नो विज्ञ टिमले पत्ता लगाएको र त्यो रकम आफू मेयर बनेको ६ महिनाभित्र उठाएर महानगर विकासका लागि काम गर्ने प्रतिवद्धता जनाए । उनले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले धेरै काम गरेको तर भन्न नजानेको बताए । भूकम्प र कोरोनाकालमा समेत विकास निर्माणका कामहरु भएकोप्रति खुशी व्यक्त गरे । उनले महानगरलाई सरकारले ४ अर्ब छुट्याएर सबै काम गर्न लगाउने गरेकोप्रति गुनासो गरे । उनले महानगरको विकासका लागि सरकारसँग ४० अर्ब रुपैयाँ माग गर्ने बताए । विकासको लागि रकम माग्दा नदिए उपत्यकाका सबै मेयरलाई एकजुट गराएर माग राख्ने बताए । कुराकानीमा उनले यस कार्यमा सबै पार्टीले पार्टीगत रुपमा नभइ विकास र समृद्धिका लागि सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए ।
मेयरका उम्मेदवार स्थापितले भने, ‘४८ अर्ब रुपैयाँ त उठ्न बाँकी रहेछ । जनता तिर्न तयार छ तर उठेको छैन । त्यो छानबिन गरेर जे पर्छ व्यहोर्छु भन्ने मान्छे मेयर हुनुपर्छ । यसअघि हाम्रो मेयरलाई भूकम्पतिर ध्यान गयो । पूँजिवृद्धिमा ध्यान गएन । अब लाग्छु भन्दा कोभिड आयो । मान्छे जोगाउने कि ? अरु गर्ने । उहाँले भन्न जान्नुभएन होला तर उहाँले गरेका काम हेर्दा यति धेरै काम गरेको छ । ४८ अर्ब रुपैयाँ म ६ महिनामा उठाउँछु भन्ने लागेको छ । कुनै जोड जुलुम नगरिकन । तर मैले एउटा आन्दोलन घोषणा गर्छु । काठमाडौं महानगरपालिकालाई ४ अर्ब पैसा दिएर सबै सिटी म्यानेज गर भनेर भन्ने त्यो सबै सामन्ती भन्छ नि, त्यो होल्ड गरेर राख्न पाइन्छ ? मलाई ४० अर्ब चाहिन्छ नत्र म काठमाडौं बन्द गर्छु भनेर यो उपत्यका भरका सबै मेयरले भन्ने हो । सबैले समृद्धिमा जान त्यो आह्वानलाई त मान्नुपर्छ नि ।’
उनले आफू मेयरमा जितेपछि योजना भएका मानिसहरुलाई मात्रै आफ्नो टिममा समावेश गर्ने बताए । उनले कुराकानीका क्रममा हरेक क्षेत्रमा काम गर्नको लागि भिजन भएकाहरुको आवश्यक पर्ने भएको र त्यो योजना युवा पुस्तामा मात्रै रहेकोले आम युवाहरुलाई आफ्नो टिममा समावेश गरेर विकासका कार्यक्रमलाई अघि बढाउने बताए । मेयरका उम्मेदवार स्थापितले युवाहरुमा पनि महिलाहरुले भ्रष्टाचारका गतिविधि गरेको नदेखेको भन्दै महिलालाई आफ्नो टिममा समावेश गरेर काम गर्ने बताए । उनले भिजन भएका युवाहरुलाई आफ्नो टिममा आउनका लागि आह्वानसमेत गरे ।
मेयरका उम्मेदवार स्थापितले भने, ‘सबै नलेज भएका मान्छे बाहिर हुने र केही थाहा नभएका मान्छे टोलीमा हुने हुनु हुँदैन , त्यसैले मैले युवा इन्जिनियर आउ भनेको छु । स्वास्थ्यको क्षेत्रमा काम गर्ने मानिस आउ, मसँग भएका फोरममा आएर काम गर्ने यो पुस्ता हो । हाम्रो पुस्ताले काम लाग्दैन । हामीले वातावरण मिलाउनका लागि केही समय काम गर्ने हो । मलाई धेरै विश्वास भनेको युवाहरुमा छ । त्यसमाथि पनि महिलाहरुमा धेरै विश्वास छ । किनभने उहाँहरुले मैले कहिल्यै पनि भ्रष्टाचार गरेको पाइनँ । त्यसैले मलाई महिलामाथि विश्वास छ । उनीहरु आएर आफ्नो खुबी देखाउन् । बराबरी भन्दा धेरै महिलाको सहभागिता चाहेको छु । म कयौँ कुरा सुधार गर्छु ।’
स्थापितले आफू मेयर बनेपछि सबैभन्दा पहिला त्रिचन्द्र कलेजको पुनः निर्माण गर्ने बताए । अहिले भइरहेको कलेजको पढाइलाई केही परिवर्तन गरेर त्रिचन्द्र कलेजलाई स्तरोन्नती गर्ने बताए । कलेज पुनः निर्माण गर्दा सबै पार्टीको अवधारणा अनुसार मिलेर काम गर्ने पनि बताए । उनले काठमाडौंको फोहोर व्यवस्थापन गर्न नसक्दा काठमाडौंको सुन्दरता नै खल्बलिएको बताए ।
उनले भने, ‘मेरो पहिलो हस्ताक्षर त्रिचन्द्र कलेजको पुनः निर्माण हुनेछ । त्यहाँको एजुकेशन सिस्टमलाई अलिकति चेन्ज गर्ने । त्यो भताभुङ्ग भयो कोही बोल्दैनन् । त्रिचन्द्र कलेज त्रिचन्द्र जस्तो भएन । नेपाली कांग्रेस मेरो प्रतिद्वन्दी हो । अलि अलि सामन्ती छ त्यहाँभित्र । नेपाली कांग्रेस छ त्यहाँ उनीहरुलाई तपाईको एजेण्डा के हो भनेर ल्याउन भन्छु । किनभने भोलि त विवाद गर्न पाएन नि । माओवादी, राप्रपालाई पनि भन्छु । त्यति भनेपछि मलाई डिस्टर्ब गर्न पाएन । अहिले पनि ४०÷५० जना मान्छे बञ्चरे डाँडामा उभ्याएर फोहोर नउठाउने ? यस्तो राजनीति गर्न मिल्छ ?’
स्थापित राजतन्त्रमा मेयर बनेका उनी सो समयमा मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं भन्ने नारासहित काठमाडौं महानगरको मेयरमा आएका थिए । उनले मेयर बन्दा माईतीघर, पशुपति क्षेत्र विकास र तीनकुने जस्ता ठाउँमा बनेका अव्यवस्थित टहरा भत्काएका थिए । स्थापित २०४७ सालमा गठित एमालेको प्रजातान्त्रिक राष्ट्रिय युवासंघका महासचिव समेत बनेका थिए । त्यो बेला युवा संघको अध्यक्ष केपी शर्मा ओली रहेका थिए । त्यो बेलाको ओली र स्थापितको सम्बन्धले पनि अहिले थप काम गरेको बुझाइ एमालेभित्र छ । स्थापितको पालामा काठमाडौं महानगरमा धेरै काम भएको र उनले नै काठमाडौंमा आकाशे पुल,सडक फराकिलो बनाउने कामको शुरू गरेको एमालेका नेताहरूको दाबी छ । त्यही बेलाको उनको छवि, खट्न सक्ने, जनतामा गएर आफ्ना कुरा राख्न सक्ने, मतदातालाई विश्वासमा लिन सक्ने खुबीका कारण एमालेले काठमाडौं महानगरको मेयरमा स्थापितलाई अघि सारेको समर्थकहरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया