वैदेशिक रोजगारीमा ठगी बढ्दो

काठमाडौंँ– सरकारले बैदेशिक रोजगारका लागि खुला गरिएका ११० राष्ट्रमा उत्तर कोरिया पर्दैन । तर पनि आकर्षक तलवको लोभ देखाई कृषि फर्ममा काम लगाई दिने बहानामा जनही पाँचलाख रुपियाँ ठगी गर्ने गिरोह राजधानीमा नै सक्रिय रहेको पाइएको छ ।
त्यस्तैं, मकाउ खुला गरिएको ‘टापु’ मुलुक भए पनि पानी जहाजमा काम लगाइ दिने भन्दै आकर्षक तलवको प्रलोभ देखाइ ठगी गर्ने गिरोह त्यतिकै सक्रिय छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैदेशिक रोजगारको प्रलोभन देखाइ उत्तर कोरिया र मकाउ पठाउने नाममा ठगी गर्ने यो दुईवटै समूहका सदस्यलाई पक्राउ गरेको छ ।
ब्यूरो प्रहरीका प्रमुख प्रहरी नायव महानिरीक्षक नारायणसिंह खड्का भन्छन्, ‘बैदेशिक रोजगारका नाममा ठग्नेभन्दा पनि ठगिने व्यक्ति सचेत हुनुपर्ने आवश्यकता छ । बैदेशिक रोजगारका लागि उत्तरकोरिया खुला छैन भन्ने कुरा जान्दाजान्दै पनि पैसा खर्चिनेहरूका कारण ठगीको समस्या बढेको हो ।’
गरिवी तथा बेरोजगारभन्दा अर्काको देखासिकी र दलालहरूको प्रलोभनका कारण ठगिनेहरूको सङ्ख्या धेरै छ, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहले भने,‘‘ठगी कतिपयका लागि ‘आयआर्जन’ को मुख्य पेशा बनेको छ ।’’
यसअघि ब्यूरो प्रहरीले ब्राजिलको ग्रीन कार्ड उपलब्ध गराइ दिने भन्दै पाँच÷छ जनाको समूहलाई भारतको दिल्ली पु¥याई हप्ता दिनसम्म अलपत्र पारी फरार सुर्खेतका सागर भन्ने लिलबहादुर मल्ललाई पक्राउ गरेको थियो । प्रहरी अधिकारी भन्छन,‘आर्थिक प्रलोभनका ठग्नेहरूको समूह हावी भएको हो ।’
बैदेशिक रोजगार ठगीमा संलग्न समूहले अपेक्षा नगरेको तलव सुविधा र कल्पना नगरेको मुलुकको नाम देखाएर युवालाई ठग्ने गरेको पाइएको छ । उपत्यकामा सक्रिय दलालहरूले बैदेशिक रोजगारीको ठगीलाई पेशाकै रूपमा अपनाउने गरेका छन् ।
बैदेशिक रोजगारमा हुने ठगीको सम्वन्धमा बैदेशिक रोजगार विभाग, प्रहरीको सिआईवी र महानगरीय प्रहरी अपराध महाशाखाले उजुरी सुन्ने गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?