काठमाडौँ– सरकारले निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा प्रस्तुत गर्ने भएको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले ती विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
यस्तै बैठकले कृषि तथा पशुपक्षी, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संगठन संरचना स्वीकृत गरेको छ । केही दिन पहिलेमात्रै ती दुई मन्त्रालय गठन गरिएको थियो । तत्कालका लागि दुई वटै मन्त्रालयको कार्यभारसमेत कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनाललाई जिम्मा दिइएको छ ।
यस्तै बैठकले नेपाल र भारतबीच सन् २००९ मा भएको वाणिज्य सन्धि पुनरावलोकनसम्बन्धी पहिलो बैठकका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैजुको नेतृत्वमा आठ सदस्यीय वार्ता टोली गठन गरेको छ ।
सो टोलीलाई सहमति भएका विषयमा राष्ट्रिय हितलाई ध्यानमा राखेर हस्ताक्षर गर्ने अख्तियारी दिने निर्णय भएको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।
त्यस्तै बैठकले गण्डकी प्रदेशका कामु प्रमुख सचिव नारायणप्रसाद विडारीलाई विशिष्ठ श्रेणीमा बढुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बुद्धिबहादुर खड्कालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै, प्रदेश नं १ का प्रमुख सचिव सुरेश प्रधानलाई महालेखा नियन्त्रणको कार्यालयमा सरुवा गरिएको छ ।
महालेखा नियन्त्रण कार्यालयका सचिव रामकुमार आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । यस्तै बैठकले विभिन्न १७ विधेयक मन्त्रिपरिषद्का विभिन्न समिति छलफलका लागि पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया