पोखरामा गठबन्धनको चुनावी सभा : देउवा र नेपालले धम्क्याए, प्रचण्डले फकाए !

लोकपथ
5.5k
Shares

काठमाडौं । आइतबार पोखरामा सत्तारुढ गठबन्धनले संयुक्त रुपमा आयोजना गरेको चुनावी सभामा गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गरेका छन् । सो क्रममा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फरक फरक शैलीमा सम्बोधन गरेका छन् । सो क्रममा देउवाले गठबन्धनविरुद्ध शंका लाग्ने अभिव्यक्ति दिनेलाई कारबाही गर्ने धम्की दिए । त्यस्तै प्रचण्डले आफूहरुले लोकतन्त्र जोगाउनका लागि गठबन्धन गरेको बताए भने नेपालले कांग्रेसमा दम्भ रहेको भन्दै त्यसो नगर्न सुझाव दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले गठबन्धमा शंका हुने काम गर्नेलाई पार्टीबाट कारबाही हुने बताए ।

चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले गठबन्धन भित्र शंका, उपशंका हुने काम गर्नु नहुने बताएका हुन् । उनले गठबन्धन विरोधी काम गरेको प्रमाण भेटेमा कारबाही गरिने बताए । उनले गठबन्धनले गर्दा नेपाली कांग्रेसलाई फाइदा भएको भन्दै गठबन्धन भित्रका अन्य दलहरुको उदारताका कारण कांग्रेस सरकारमा आएको बताए । प्रधानमन्त्री देउवाले गठबन्धनलाई सफल पार्नु कांग्रेसको कर्तव्य भएको उल्लेख गरे । उनले भने– ‘हाम्रो कस्तो अवस्था थियो गठबन्धन बन्नुभन्दा अगाडी ? आज कांग्रेसको नेतृत्वमा सरकार छ । सबै पार्टी मिलाएर बसेको छ । त्यसकारण कांग्रेसबाट पार्टीका सबै साथीहरुबाट कुनै किसिमबाट पनि हाम्रो तर्फबाट गठबन्धनलाई कुनै किसिमको शकां, उपशंका गर्ने काम गर्नै हुँदैन । त्यो ग¥यो भने मैले तपाईहरुलाई भनिहालेँ प्रमाण भयो भने त्यसलाई कारबाही समेत हुनेछ । पार्टीलाई फाइदा भएको छ गठबन्धनले । प्रचण्डजीले, माधव नेपालजीले उदार भएर हामीलाई सहयोग गर्नुभएको छ, त्यस्तै जनता समाजवादी पार्टीले पनि उदार भएर हामीलाई सरकारमा ल्याएको छ । हाम्रो मुख्यमन्त्री बनाएको छ । हाम्रो मन्त्रीहरु बनेका छन् । कांग्रेसको त कर्तव्य हो गठबन्धनलाई सफल पार्ने ।’

त्यसैगरी पूर्वप्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र विरोधीहरुको गठबन्धन परास्त नगरे देशमा राजनीतिक दुर्घटना हुने बताए । उनले सत्तारुढ गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउनको लागि जन्मिएको बताए । उनले देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन गठबन्धनलाई सफल पार्नुपर्ने बताए । उनले भने– ‘गणतन्त्र गठबन्धन विरोधीहरुको गठबन्धन जो आएको छ, त्यसलाई परास्त गर्न आवश्यक छ । अन्यथा देशमा फेरी राजनीतिक दुर्घटनाको खतरा छ । मैले यो कुरा भन्दै गर्दा र नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारलाई सफल बनाउन अपील गर्दै गर्दा कतिपय मानिसहरुले मैले जनता धम्क्यायो, हामीलाई नजिताए दुर्घटना हुन्छ भन्यो भनेर पनि गलत अर्थ लगाइएको छ । म फेरीपनि गम्भिर रुपले भन्न चाहान्छु, यो गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउनको लागि जन्मिएको हो । यदी यो गठबन्धन दाँयाँबायाँ भयो भने देश फेरी राजनीतिक दुर्घटनामा जान सक्छ । त्यसकारण राजनीतिक दुर्घटनाबाट बचाउनको निम्ति गठबन्धनलाई सफल गर्न म विशेष रुपले अपील गर्न चाहान्छु ।’

त्यस्तै पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दल नेपाली कांग्रेसलाई दम्भ नराख्न आग्रह गरे । उनले दम्भका कारण केपी ओलीको बिनाश भएको भन्दै दम्भ राखेमा कांग्रेसको पनि बिनाश हुनुको विकल्प नभएको बताए । उनले भने– ‘कहिलेकाहीँ कांग्रेसमा दम्भ हुन्छ । हामी धेरै शक्तिशाली छौँ । दम्भ नराख्नुस् । त्यही दम्भले केपीको बिनाश ग¥यो । दम्भ राख्नुभयो भने तपाईको पनि बिनाश हुने बाहेक अरु केही उपाय हुँदैन । सबैको शक्तिलाई स्वीकार गर्नुपर्छ । त्यत्तिकै उम्रिएर आएका होइनन् यिनीहरु । इतिहासका कालखण्डमा दशकौँ बिताएका छन् । पाँच दशक त मैले नै बिताइसके । पचास वर्षको लामो यात्रा पार्टी निर्माण गरियो, आन्दोलन हाँकियो ।’

उनले सबैको शक्तिलाई स्वीकार गर्नुपर्ने पनि बताए ।

वैशाख २१ गतेदेखि देशका मुख्यमुख्य पालिकाहरुमा गठबन्धनको चुनावी सभा गर्दै आइरहेको छ । सो क्रममा तीनै नेताहरुको उपस्थिती रहेको छ । चुनावी सभामा नेताहरुले गठबन्धनको विरोधका आवाजहरु उठ्न दिन नहुनेमा जोड दिँदै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?