काठमाडौं महानगरपालिकामा मेयरका तीन प्रत्यासीहरुको यस्ता छन् प्रतिबद्धता

लोकपथ
546
Shares

काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नेता केशव स्थापितले आफू मेयर बनेपछि काठमाडौंलाई बिना पर्खालको खुल्ला काठमाडौं बनाउने घोषणा गरेका छन् ।

आइतबार काठमडौंमा आयोजित बागमती किनारका पालिकाहरुमा प्रमुख र उपप्रमुखका उम्मेदवारहरुसँगको अन्तरक्रिया तथा प्रतिबद्धता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मेयरका उम्मेदवार स्थापितले अझै पनि काठमाडौंमा एक तिहाई भाग खुला भएको दाबी गरेका छन् । उनले काठमाडौं भित्र रहेका २४७ वटा निजी तथा सरकारी ठाउँमा लगाएका पर्खाल भत्काउने र सबैलाई प्रवेश दिने व्यवस्था गर्ने घोषणा गरे । मेयरका उम्मेदवार स्थापितले स्वीट्जरल्याण्ड पार्कमा अक्सिजन प्लान्ट स्थापना गर्ने र त्यसको लागत महानगरले व्यहोर्ने बताए । उनले काठमाडौंमा ४८ अर्ब राजश्व उठाउन बाँकी रहेकोले आफू मेयर भएपछि हरेक दिन जनताको गुनासा सुनेर तत्काल समस्या समाधान गर्ने घोषणा गरे । मेयरका उम्मेदवार स्थापितले नदीलाई सानो बनाएर दायँबायाँबाट सडक निकाल्ने र नदी क्षेत्रलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए ।

मेयरका उम्मेदवार स्थापितले पशुपति विकास कोष कुनैपनि हालतमा महानगरको मातहतमा आउनुपर्ने बताए । उनले सदस्यसचिव बनेर जानेहरुले कसलाई कति ख्वाउने भन्ने चर्चामात्र हुने र लुट्ने बाहेकको काम नहुने भन्दै महानगले मातहतमा राखेर व्यवस्थापन गर्नुपर्ने उल्लेख गरे । मेयरका उम्मेदवार स्थापितले शव जलाउने ठाउँको डिजाइन आफूले गरिसकेको दाबी गरे ।

त्यस्तै कार्यक्रममा सत्तारुढ गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले आफू मेयर भएपछि काठमाडौं महानगरपालिका भित्रका घर परिवारमा बच्चा जन्मिएपछि एक बिरुवा रोप्ने अभियान शुरु गर्ने बताइन । उनले काठमाडौंमा फोहोरको व्यवस्थापन गर्न कुनै ठूलो कुरा नभएको भन्दै यो व्यवस्थापन गर्न नजान्दा भएको कमजोरी रहेको जिकिर गरिन ।

यसैगरी विवेकशील साझा पार्टीबाट काठमाडौंको मेयरमा अर्को उम्मेदवार नेतृ समीक्षा बास्कोटाले आफू मेयरमा उठेपछि सबैभन्दा पहिला फोहोर व्यवस्थापनमा ध्यान दिने बताइन । उनले घरबाट नै फोहोरको व्यवस्थापन गर्न सकिने बताउँदै घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्ने बताइन । मेयरकी उम्मेदवार बासकोटाले काठमाडौं महानगरपालिकाभित्र रहेका खुल्ला क्षेत्रलाई सर्वसुलव पार्क बनाउने आफ्नो पार्टीको योजना रहेको उल्लेख गरिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?