काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालका लागि इजरायली राजदूत बेन्नी ओमेरबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्विीपक्षीय हितका विषयमा छलफल भएको छ ।
भेटमा उर्जामन्त्री पुनले नेपालमा नयाँ संविधान जारी भइसकेपछि स्थायित्त्वको युग शुरु भएको भन्दै इजरायली लगानीकर्तालाई उर्जा क्षेत्रमा लगानीको वातावरण बनाइदिन राजदूत ओमेरसंग आग्रह गरे ।मन्त्री पुनले भने ‘हामीलाई १० वर्षमा १० हजार मेगावाट बिजुलीको आवश्यकता छ अहिले लगानीको राम्रो वातावरण समेत बनेको छ । तपाईमार्फत नेपालको उर्जा क्षेत्रमा लगानी गर्न म इजरायली लगानीकर्ताहरुलाई आग्रह गर्छु ।’
उनले इजरायलसँग धेरै लामो कुटनीतिक सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझ मजबुत बन्ने विश्वास समेत व्यक्त गरे । लामो समयदेखि दुई देशको बीचमा कृषि र प्रविधिका साथै अन्य विभिन्न क्षेत्रमा सहयोग र सहकार्य रहँदै आएको भन्दै मन्त्री पुनले आगामी दिनमा उर्जा क्षेत्रमा सहकार्य गर्न सरकार ईच्छुक रहेको धारणा राखे ।
मन्त्री पुनले इजरायल नेपाली कामदारको लागि सुरक्षित गन्तव्यको रुपमा रहेको भन्दै आगामी दिनमा पनि इजरायलले त्यसमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।
भेटमा इजरायली राजदूत ओमेरले उर्जा र सिंचाईको क्षेत्रमा सहकार्य गर्न इजरायल सरकार आतुर रहेको बताए । उनले उर्जामा लगानीको लागि इजरायलले पार्टनर खोजिरहेको भन्दै त्यसका लागी सरकारलाई सहयोग गर्न आपूुहरु तयार रहेको धारणा राखे ।
‘नेपालको जलविद्युतमा लगानी गर्न इजरायलबाट निजी क्षेत्र आउन तयार छ, त्यसका लागी हामी पार्टनर पनि खोजिरहेका छौँ ।’ भेटमा राजदूत ओमेरले भने । उनले विओटी मोडलमा काम गर्न इजरायल ईच्छुक रहेको बताए ।
नेपाल इजरायलको पुरानो साथी भएको भन्दै राजदूत ओमेरले आगामी दिनमा समेत नेपाल र इजरायलको बीचमा द्विीपक्षीय सम्बन्ध मजवूत बन्ने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया