राजनीति मोहमा फस्दै कलाकार : बालेनदेखि भुवनसम्म

स्थानीय तहको चुनावको मिति नजिकिएसँगै यतिबेला देशभर चुनावी रौनक छाएको छ । हरेक घरदेखि टोल अनि सडकमा समेत चुनावी पर्चा र विभिन्न पार्टीका झण्डाहरु देख्न सकिन्छ । चुनावी चर्चा नभएका ठाउँ सायदै भेटिन्छन् होला । उम्मेदवारहरुलाई घरदैलो अभियानमा भ्याइनभ्याइ छ ।

यसरी नै कलाकारहरुलाई समेत चुनावी चटारोले छोपेको छ । यही समयमा विभिन्न पार्टी र उम्मेदवारका गीत गाउनदेखि उनीहरुलाई जिताउने अभियान र पार्टी प्रवेशसम्मका काममा कलाकारहरु व्यस्त छन् ।

पछिल्लो समय पार्टीमा नै प्रवेश गरेर राजनीति गर्न चाहने कलाकारहरु पनि बढ्दै छन् । बाहिर समर्थन या विरोध जे भए पनि कलाकारहरुले राजनीतिक पार्टीको टीका लगाएर प्रवेश गर्ने क्रम रोकिएको छैन । यी कलाकारहरु जो नेपाली राजनीतिमा आफ्नो भविष्य खोज्दैछन् ।

रेखा थापा

नेपाली चलचित्र क्षेत्रमा सफल नायिका, निर्देशक तथा निर्माताको छवी बनाउन सफल नायिका रेखा थापा पनि पछिल्लो समय चलचित्रभन्दा राजनीतिमा बढी सक्रिय छिन् । २०७३ सालदेखि राप्रपामा संलग्न रहेकी उनी अहिले पार्टीको केन्द्रीय सदस्य छिन् । राप्रपाको हालै सम्पन्न महाधिवेशनमा उनी महामन्त्री लडेर पराजित बनेकी थिइन् ।

राप्रपाअघि रेखा नेकपा माओवादीसँग निकट थिइन् । अध्यक्ष प्रचण्डबाट टिका लगाएर माओवादीमा प्रवेश गरेकी रेखा त्यहाँ धेरै टिकिनन् । रेखालाई माओवादीले सांसदको टिकटसमेत दिने तयारी गरेको थियो । तर, मतदाता सूचीमा नाम नभएका कारण रेखाको त्यो अवसरबाट वञ्चित भइन् । पछि उनी माओवादी छोडेर राप्रपा प्रवेश गरिन् । राप्रपाको एकता महाधिवेशनबाट उनी लोकप्रिय मत पाउँदै केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् ।

करिश्मा मानन्धर

२०७३ मा डा. बाबुराम भट्टराईले तत्कालीन एकीकृत माओवादी छोडेर ‘नयाँ शक्ति’ पार्टी खोलेपछि राजनीतिमा होमिएकी अभिनेत्री करिश्मा मानन्धनर गत चैत ८ नेकपा एमाले प्रवेश गरिन् । केपी ओली, एमालेको एजेन्डा र सो पार्टीप्रति नागरिकको सद्भाव तीन कारण देखाउँदै उनले एमालेमा प्रवेशको औचित्य पुष्टि गरिन् ।

यतिमात्र नभएर आफ्नो न्वारानको नाम नै सूर्यकुमारी भएकाले जन्मिदै एमालेसँग नाता जोडिएको समेत भन्न भ्याइन् । यस विषयलाई लिएर धेरै ट्रोलहरु बने पनि उनी अहिले नेकपा एमालेमा रहेर निर्वाचनलक्षित कार्यक्रममा व्यस्त छिन् ।

बालेन शाह

एउटा र्‍यापरको रुपमा राम्रो नाम कमाएका बालेन साह आसन्न निर्वाचनमा चर्चित नाम हो । आसन्न स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उमेदवारी घोषणा गर्दै उनी पनि राजनीतिमा होमिएका छन् ।

कुनै पार्टीमा नलागीकन स्वतन्त्र तर्फबाट काठमाडौं महानगरको मेयरका लागि उम्मेदवारी दिएपछि उनको चर्चा निकै चुलिएको छ । पेसाले उनी स्ट्रक्चरल इन्जिनियर हुन् ।

भुवन केसी

अभिनेता तथा निर्माता भुवन केसी र अभिनेत्री तथा निर्मात्री श्वेता खड्का नेपाली कांग्रेसमा एकै दिन प्रवेश गरेका हुन् । स्थानीय तहको चुनाव आउन केही दिन मात्र बाँकी रहँदा यही २० गते प्रधानमन्त्री निवास बालुटावारमा आयोजित कार्यक्रममा उनी एमाले छोडेर कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टी प्रवेश गराएका थिए ।

निर शाह समेत सहभागी भएको उक्त कार्यक्रममा अभिनेता केसीले कलाकारले पनि राज्य हाँक्न सक्छन् भन्ने प्रमाणित गर्न कांग्रेस पार्टीमा प्रवेश गरेका बताए ।

२०७० सालको संविधानसभा चुनावमा नेकपा एमाले प्रवेश गरेका केसीले त्यसबेला उम्मेदवारीका लागि टिकट समेत पाएका थिए । तर पार्टीभित्र तीव्र विरोध भएपछि अन्तिम समयमा उनलाई टिकट दिने निर्णयबाट एमाले ब्याक भएको थियो ।

हातमै आएको टिकट टिकट खोसिएपछि पछिल्लो समय उनी राजनीतिमा खासै सक्रिय छैनन् । एमाले सरकारका पालामा चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने असफल प्रयास गरेका उनलाई सरकारले नपत्याएपछि पार्टी नै फेरेका छन् ।

मदनदास श्रेष्ठ

कलाकार मदनदास श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिमा सक्रिय छन् । लामो समयदेखि आसन्न स्थानीय निर्वाचनमा उनले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी समेत दिएका छन् । श्रेष्ठ करिब ३० जना कलाकारको टोलीसहित २०७३ मा राप्रपामा प्रवेश गरेका थिए ।

कोमल ओली

२०७३ साल फागुन ६ गते रेडियो नेपालमा राजीनामा दिएर ७ गते उनी राप्रपाको केन्द्रीय महाधिवेशनमा उम्मेदवारी दिन पुगेकी थिइन् । तर, उनी राप्रपामा लामो समय टिक्न सकिनन् ।

केही समयपछि नै उनी एमाले प्रवेश गरिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निकट मानिने वली हाल पार्टीको केन्द्रीय सदस्य छिन् । उनले राष्ट्रियसभा सदस्यको रूपमा आफ्नो चार वर्षे कार्यकाल समेत पूरा गरेकी हुन् ।

राधिका हमाल

चर्चित लोकगायिका राधिका हमाल नेपाली कांग्रेससँग आबद्ध छिन् । गीतसंगीतसँगै उनी राजनीतिमा सक्रिय भएको लामो समय भइसकेको छ । उनी आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट रोल्पा त्रिवेणी गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेकी छिन् ।

यसअघिको स्थानीय निर्वाचनमा समेत गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएकी हमालले एमाले उम्मेदवार मानबहादुर डाँगीसँग पराजित भएकी थिइन् ।

निर शाह

नेपाली चलचित्र उद्योगका चर्चित निर्माता तथा निर्देशक निर शाह पनि नेपाली कांग्रेसमा प्रवेश गरेर राजनीतिक यात्रा सुरू गरेका छन् । नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति प्रकाशमान सिंहले निर शाहलगायतका कालाकार कांग्रेसमा प्रवेश गरेकाले पार्टी थप बलियो र सशक्त हुने विस्वाससहित बधाई तथा शुभकामना दिए ।

उनीसँगै धिरेन शाक्य, झरना थापा, जीवन लुइँटेल, शंकर बिसी, पार्वती राईलगायतका कलाकार कांग्रेसमा प्रवेश गरेका हुन् । पाका अभिनेता एवं निर्देशक नीर शाहलाई कांग्रेसको कोटाबाट राष्ट्रियसभाको सदस्य बनाउने चर्चा छ ।

स्वेता खड्का

विभिन्न सामाजिक काम गरेर चर्चामा आइरहेकी अभिनेत्री तथा निर्मात्री श्वेता खड्का नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेकी छिन् । स्थानीय तहको चुनाव आउन केही दिन मात्र बाँकी रहँदा उनीसहित कलाकारहरुको टोलीलाई यही २० गते प्रधानमन्त्री निवास बालुटावारमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् ।

उनीसँगै अभिनेता भुवन केसी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष कलाकार रवीन्द्र खड्का तथा श्वेता पति विजयेन्द्र सिंह पनि कांग्रेसमा प्रवेश गरेका छन् । अभिनेत्री खड्काले राजानीतिमा लागेको लेउ हटाउन राजनीतिमा लाग्ने हिम्मत गरेको बताइन् ।

उद्धव पौडेल

चलचित्र वितरण, निर्माण तथा प्रदर्शनमा उच्च स्थान बनाएका उद्धव पौडेल राप्रपानिकट राजनीतिमा सक्रिय छन् । कमल थापानिकट मानिएका पौडेल राप्रपाका पूर्वकोषाध्यक्ष समेत हुन् ।

कमल थापाले राप्रपा छोडेसँगै पौडेल पनि सो पार्टीबाट अलग भएका छन् । उनले गत माघ २६ गते राप्रपालाई एकताबद्ध बनाउन आफू असफल भएको भन्दै पार्टी परित्यागको घोषणा गरेका थिए । अहिले उनी कमल थापाले गठन गरेको राप्रपा नेपालमा छन् ।

रविन्द्र खड्का

पुरानो पुस्ताका अभिनेता रविन्द्र खड्का पनि भर्खरै मात्र नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । यही २० गते प्रधानमन्त्री निवास बालुटावारमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् ।

एमालेमा आबद्ध रहेका अभिनेता तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का भने आसन्न स्थानीय निर्वाचमा एमालेबाट पनौती नगरपालिकाको मेयर बन्ने घोषणा गरे पनि पार्टीले टिकट नदिएपछि कांग्रेसमा प्रवेश गरेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा उनी काभ्रेको मेयरमा मनोनीत गरिएका थिए । तर, पछि प्रत्यक्ष चुनाव लड्दा उनले दुई सय भोट पनि कटाउन सकेनन् । हाल उनी चलचित्र कलाकार संघको निर्वाचित अध्यक्ष पनि हुन् ।

यसरी यी चर्चित अनुहारबाहेक पनि नेपाली राजनीतिमा कलाकारहरुको उपस्थिति देख्न सकिन्छ । बद्री पंगेनी पशुपति शर्मा, टीका पुन, चेतन सापकोटा, रामचन्द्र अधिकारी, सम्झना वुढाथोकी, अयुव केसी, धिरेन शाक्य, झरना थापा, जीवन लुइँटेल, शंकर बिसी, पार्वती राई, प्रदिप बाँस्तोलालगायतका कलाकारहरु पनि विभिन्न पार्टीको राजनीतिसँग नजिक छन् ।

धेरै कलाकारहरु औपचारिकरुपमा कुनै पार्टी प्रवेश नगरे पनि पार्टीनिकट भतृ संगठनमा लागेर पार्टीलाई सहयोग गरिरहेका छन् भने कतिले पार्टीका नारासहितका गीत गाएर पनि आफ्नो उपस्थिति देखाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?