तनहुँ । आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई कार्य क्षेत्रमा खटाउने तयारी गरेको छ ।
उनीहरुलाई तालिम दिएर सम्बन्धित मतदान केन्द्रमा खटाउने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले जनाएको छ ।
जिल्लाका १३६ मतदानस्थलका २९७ मतदान केन्द्रमा मतदान र सहायक मतदान अधिकृत खटाइँदैछ । निर्वाचनमा खटिने २९७ मतदान र २९७ सहायक मतदान अधिकृतलाई शुक्रबार र शनिबार तालिम प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक र कार्यालय सहयोगीको नामावली शनिबार नै प्रकाशित गरेको छ । ती कर्मचारीलाई नियुक्तिपत्र, मतपत्र र आवश्यक निर्वाचन सामग्री हस्तान्तरण गरी मतदान केन्द्रमा पठाइने उनले बताए ।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले निर्वाचनमा खटिने कर्मचारीले निष्पक्ष भएर जिम्मेवारी पूरा गर्नुपर्ने बताए । उनले आचारसंहितामा बाँधिएर निर्वाचनलाई सम्पन्न गराउनेतर्फ ध्यान दिन आग्रह गर्दै भने, “निर्वाचनमा खटिएपछि सबैले आफ्नो आस्थालाई बिर्सिनुपर्छ, सबैलाई समान नजरले हेरेर निष्पक्षरूपमा निर्वाचन सम्पन्न गराउनेतर्फ लाग्नुपर्छ ।”
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचनलाई भयरहित बनाउन सुरक्षा अवस्था मजबुद बनाइएको भन्दै ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गरे । मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्यरूपमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रजिअ अर्यालले बताए ।
प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले हरेक मतदान केन्द्रमा प्रहरी परिचालित हुने भएकाले ढुक्क हुन आग्रह गरे । निर्वाचनमा कुनै शङ्कास्पद गतिविधि भएको पाइए तत्कालै प्रहरीलाई खबर गर्न उनले अनुरोध गरे ।
तालिममा कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षबारे जानकारी दिइएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाको विषयमा सिकाइएको निर्वाचन कार्यालयका प्रमुख ढकालले बताए ।
मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के–के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको छ ।
जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी दुई हजार ३७६ जनशक्ति परिचालन गरिनेछ । निर्वाचनका लागि २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक, २९७ सहयोगी परिचालन हुनेछन् । त्यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया