अमरगढीमा कांग्रेसभित्र जति विवाद नेकपा एसलाई त्यति नै सहज

लोकपथ
338
Shares

डडेल्धुरा । आसन्न स्थानीय तहको निर्वाचन जति नजिकिँदैछ डडेल्धुरामा कांग्रेसको विवाद त्यतिनै चर्किदैछ । सतहमा देखिन थालेको कांग्रेसभित्रको यो विवादले प्रतिद्धन्दी उम्मेदवारलाई फाइदा भइरहेको छ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र डडेल्धुरा कांग्रेसका पूर्वसभापति कर्णबहादुर मल्लको आन्तरिक द्वन्द बढ्दै जाँदा डडेल्धुरा कांग्रेस ‘चरम संकट’मा फसेको छ ।

कांग्रेस सभापति देउवाले जिल्ला सदरमुकामस्थित नगरपालिका अमरगढीको नगरप्रमुखका लागि डिल्लीराज जोशीलाई अगाडि सारेपछि उनलाई ‘काउन्टर’ दिन कर्ण मल्लले एमालेसँग तालमेल गरेर कांग्रेस बिपीबाट हरि भट्टलाई अगाडि सारेका छन् ।

जोशी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार विशेश्वरप्रसाद ओझासँग पराजित भएका थिए । सोही समयमा अधिवक्ता समेत रहेका भट्ट पनि नगरप्रमुखको दौडमा थिए । तर, उनले टिकट पाउन सकेनन् ।

भट्ट सातौँ जिल्ला अधिवेशन तथा १४औँ महाधिवेशनमा जिल्ला सभापतिको दौडमा थिए । तर, उनलाई पाखा लगाएर देउवाले व्यवसायी भीमबहादुर साउदलाई सभापति बनाए । जसकारण हरि भट्टसहित मल्ल समूह निरन्तर कांग्रेसभित्र असन्तुष्टि पोख्दै आएका छन् ।

देशभर एमालेविरुद्ध पाँच दलको गठबन्धन गरेका देउवाको गृहजिल्लामा भने राजनीतिक दलबीच तालमेल छैन् । जसकारण गृहजिल्लामा चुनाव जित्न उसलाई सकस परेको छ ।

देउवापत्नि आरजु राणा, केन्द्रीय सदस्य नैनसिंह महर लगायतका नेता जोशीलाई जिताउन अनेक हत्कण्डा गरिरहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको समूह लिएर देउवा २७ वैशाखमा यहाँको आमसभालाई सम्बोधन गर्न आउँदैछन् ।

मल्ल र राणाको ‘वार’

२१ वैशाखमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवापत्नि तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले करुवा, सरुवा, हरुवा पार्टीलाई भोट नदिन र कांग्रेसलाई हराए बजेट नै नदिने चेतावनी दिइन् ।

राष्ट्रियस्तरको नेता नभएको पार्टीले केही गर्न नसक्ने भन्दै उनले करुवा पार्टीको नेता को हो ? भन्दै प्रश्न गरिन् । कर्ण मल्ललाई लक्षित गर्दै उनले आफ्नो नाममा राजनीति गर्नेहरू अहिले सुकिलामुकिला भएको आरोप लगाइन् ।

राणाको अभिव्यक्तिलाई ‘काउन्टर’ दिने भन्दै कांग्रेस बिपी र एमालेले समेत दुई दिनपछि २३ वैशाखमा एक कार्यक्रम आयोजना गर्‍यो । र, राणाका अभिव्यिक्तिको दुवै पार्टीका नेताले पालैपालो जवाफ फर्काए ।

मल्लले आरजुको अभिव्यक्तिले डडेल्धुराको मतदाताको अपमान भएको बताए । उनले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको डडेल्धुरामा हुने चुनावी आम सभामा बोल्न रहर व्यक्त समेत गरे । उनले आफूले सो चुनावी आम सभामा १० मिनेट मात्र बोल्ने र पार्टीमा गरेका हिसाब किताब राख्ने बताए ।

उनी भन्छन्, ‘हिम्मत भए २७ वैशाखमा हुने देउवाको आम सभामा १० मिनेट बोल्न दिनु, कांग्रेस विद्रोही हरि भट्टतर्फबाट म आफ्ना कुरा राख्ने छु ।’ उनले देउवा र आरजुलाई ३० वैशाखको निर्वाचनमा आफूहरू को हौँ भनेर देखाइ दिने जिकिर गरे ।

अमरगढीमा समाजवादीको ‘इन्ट्री’ सहज बन्दै :

कांग्रेसपछि अमरगढीमा नेकपा एकीकृत समाजवादी पार्टीको बलियो अवस्था छ । नेकपा एसले अमरगढीमा नगरप्रमुखको उम्मेदवारमा संगीता भण्डारीलाई अगाडि सारेको छ ।

०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पार्वती झुकाललाई पराजित गर्दै भण्डारी उपप्रमुखमा विजयी भएकी थिइन् । गत निर्वाचनमा कांग्रेससँग एकल रुपमा प्रतिस्पर्धा भएको थियो । यसपटक भने कांग्रेस विभाजन भएर दुई पार्टी भएका छन् र अलग अलग उम्मेदवार चुनावी मैदानमा छन् ।

कांग्रेसको घर झगडाका कारण यसपटक अमरगढीको प्रमुखमा भण्डारीले बाजी मार्ने सम्भावना छ । कांग्रेस बिपीले एमालेसँग तालमेल गरेर अमरगढीको प्रमुख पद पाएपछि एमालेका अधिकांश नेता कार्यकर्ता रुष्ट छन् । जसको प्रत्यक्ष फाइदा भण्डारीले लिन सक्छिन् ।

एक कार्यकाल नगर उपप्रमुख भएर अमरगढीको नेतृत्व गरेको अनुभवले भण्डारीलाई नगरप्रमुखमा ‘इन्ट्री’ सहज भएको छ । सात स्थानीय तह रहेको डडेल्धुरामा भण्डारी पालिका प्रमुखकी एक्ली महिला उम्मेदवार पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?