पाँच वर्षसम्म इमान्दार भएर गरेको विकासका काम नै मेरो जितको आधार हो : मदन सुन्दर श्रेष्ठ

लोकपथ
520
Shares

मध्यपुर थिमि नगरपालिकाको मेयरमा एमालेका तर्फबाट मदन सुन्दर श्रेष्ठले उम्मेदवारी दिएका छन् । उनी मध्यपुर थिमिको निवर्तमान मेयर पनि हुन् । पेसाले सिभिल इन्जिनियर रहेका उनी शंखधर मेमोरियल स्कुलका फाउन्डर प्रिन्सिपल हुन् । कानुनमा स्नातक तह, व्यवस्थापनमा स्नातकोत्तर तह अध्ययन गरेका श्रेष्ठलाई मध्यपुर थिमिवासीले मत किन दिने, फेरि मेयरमा उम्मेदवारी दिनुको कारणसहित समग्र विषयमा  लिएको अन्तर्वार्ता :

पहिलो कार्यकाल सकेर फेरि आफूलाई मत माग्दै हिँड्दा जनताको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

पाँच वर्षको कार्यकाल पूरा गरेर मेयर पदबाट राजीनामा दिएँ । फेरि मेयरमै उम्मेदवारी दिएको छु । र मत माग्न मतदाताको घरघरमा पुगिरहेको छु । पहिलो पाँच वर्षमा जनताले देख्ने गरी धेरै कामहरू भएका छन् । हामीले पाँच वर्षको अन्तरालमा गरेका कामका आधारमा जनताबाट राम्रै उत्साह र फेरि दोहोरिनुपर्छ भन्ने भावना पाएको छु ।

पाँच वर्षको अवधिमा तपाईंले गरेका आफ्ना प्रमुख कामहरूलाई सम्झनु पर्दा कुन कुन कामहरू सम्झनु हुन्छ र ?

कामहरू त धेरै भए । तर, आफूले गरेका कामहरू मध्ये ५/६ वटा कामहरू देखिने भन्ने गरेको छु । अरू आमरुपमा बाटाघाटा, सडक, ढल, खानेपानी, ढुङ्गा बिछ्याउने लगायतका विकासका कामहरू भई नै गयो । मेरो कार्यकालमा भएका महत्त्वपूर्ण कामहरू मध्ये देखिने काम भनेको सङ्घीयता कार्यान्वयनको कामहरू प्रस्ट देखिने गरी गर्‍यौँ । ७५३ वटा पालिकामध्ये एउटै स्थानीय तह छ, जसले आफूलाई स्थानीय सरकार भनेर लेख्छ, त्यो भनेको मध्यपुर थिमि नै हो । हामीले लेटर प्याडदेखि साइनबोर्डसम्म मध्यपुर थिमि नगरपालिका स्थानीय सरकार भनेर लेख्छौँ र त्यहीअनुसार पत्राचार गर्ने गर्छौं । संघीयताको यो महत्त्वपूर्ण कार्यान्वयनको पाटो हो ।

अर्कौ, विकास निर्माणको सन्दर्भमा धेरै काम गरेका छौँ । सम्पदा संरक्षणको सवालमा मध्यपुर थिमिमा यो अवधिमा धेरै कामहरू भएका छन् । सम्पदा संरक्षणमा मध्यपुर थिमि नगरपालिकाको काम नेपालकै नमुना र अग्रणी रह्यो । काठमाडौं, भक्तपुर र ललितपुरमा त पहिल्यै सम्पदा बस्ती थियो । पहिलै सम्पदाको सहर थिए ती । पछिल्लो कार्यकालमा मध्यपुर थिमि उत्कृष्ट सम्पदाको क्षेत्रमा काम गर्ने स्थानीय सरकार हो भन्ने कुरा हामीले पुष्टि गर्न सफल भयौँ भन्ने मलाई लाग्छ । नगरपालिकाबाट १०० बेडको अस्पताल सञ्चालन गर्न सकिन्छ भनेर पुष्टि गर्‍यौँ । अन्यत्र १५ बेडको अस्पताल सञ्चालन गर्न गाह्रो भइरहेको बेला हामीले १०० बेडको अस्पताल सञ्चालन गरेर कोभिडको बेलामा सेवा दियौँ । पीसीआर ल्ययाब सञ्चालन गर्नेदेखि अक्सिजन प्लान्ट सञ्चालन गर्ने काम यहाँ भयो ।

आईसीयू व्यवस्था गर्नेदेखि भेन्टिलेटरको व्यवस्थापन र क्राइसिस म्यानेजमेन्टका कामहरूे कुशलतापूर्वक गर्न सक्यौ । त्यो कामहरू नेपालमै नमुना योग्य रह्यो भन्ने मलाई लाग्छ । अर्को राम्रो र सफल काम भनेको फोहोर मैला व्यवस्थापन पनि हो । हामीले जापनीज प्रविधि रिकिसी भित्र्याएर जुन कुहिने फोहोरमैलालाई नमुनाका रूपमा व्यवस्थापन गर्न सक्यौँ, त्यो पनिसफलता हो भन्ने मलाई लाग्छ । यो प्रविधिबाट अहिले हामीले लगभग पाँच हजार घरधुरीको फोहर व्यवस्थापन गरेर कम्पोस्ट मल बनाइरहेका छौ । सम्पदा संरक्षण सँगसँगै नयाँ बस्तीहरूलाई व्यवस्थित सहरीकरण गर्नु पर्छ भनेर पनि काम गरिरहेका छौ । सबैभन्दा बढी जग्गा एकीकरण आयोजना ल्यान्ड पुलिङ लागु गर्ने नगरपालिको रूपमा रहेको छौँ । उपत्यका विकास प्राधिकरण खारेज हुनुपर्छ भनेर हामीले त्यसबाट सञ्चालित आयोजनाहरू फिर्ता ल्याएर काम गरिरहेका छौँ । प्राधिकरणमा रहेका चार वटा आयोजनामध्ये तीन वटा फिर्ता ल्याएका छौ भने नयाँ सातवटा आयोजनाहरू हामीले यहाँ सञ्चालन गरेका छौ । यसरी हामीले व्यवस्थित सहरीकरणका क्षेत्रमा पनि सफलता हासिल गर्‍यौँ भन्ने मलाई लाग्छ ।

अब फेरि नगरप्रमुख हुनु भयो भने के गर्नु हुन्छ ?

जुन विकास निर्माणका अधुरा कामहरू छन्, त्यसलाई पूरा गर्नेछु । सम्पदा बस्तीहरू जुन रुपमा पुनर्निर्माण गर्ने काम भएको छ त्योसँगै नयाँ बस्तीहरू व्यवस्थित सहरीकरण गर्ने कामलाई मैले दोस्रो प्राथमिकतामा राखेको छु । अस्पताल सञ्चालनको काम पनि छ । कोभिडमा हामीले गरेको कामलाई देखेर एक अर्ब पाँच करोड बजेट कोरियन सरकारले स्वीकृत गरेको छ । त्यो रकम कोरियन संसदबाटसमेत पास भएर आइसकेको छ । त्यसको आधारमा हामी तीन सय बेडको पूर्वाधारसहितको अस्पताल बनाउँछौ । त्यसबाट हामीले एउटा मेडिकल कलेजको आधार तयार गर्नेछौँ । नर्सिङ कलेज समेत सञ्चालन गर्ने छौ । फोहोरमैला व्यवस्थापनको लागि अहिले पाँच हजार धुरीलाई उपयोगी भएको प्रविधि एउटा वडाको लागि एउटामा सीमित हुने गरी नगरपालिकाभरि विस्तार गर्ने र उपत्यकाभरि विस्तार गर्नुपर्छ भनेर मैले योजना बनाएको छु ।

तपाइँ (एमाले)विरुद्ध गठबन्धन बनेको छ । जित कतिको सहज देख्नु हुन्छ र जितका आधार के हुन् ?

मैले जित्ने आधार भनेको पाँच वर्षसम्म इमान्दारसँग देखिने गरी गरेका विकासकै कामहरू हुन् । दोस्रो हाम्रो सङ्गठन नै हो । पाँच वर्षअघि संठनात्मक रूपमा म कमजोर थिएँ, त्यो बेला मैले गठबन्धन गरेर चुनाव लडेको थिएँ । आज कांग्रेस कमजोर भएको छ, उसले गठबन्धन गरेको छ । त्यतिखेर दुई तिहाइ जितेको पार्टी गठबन्धनको सहारामा आउनु भनेको उनीहरू डिफेन्सिभ भएर आएको स्पष्ट हुन्छ । कांग्रेसले यहाँ माओवादीको वैशाखी लिएर आएको छ । हामीले सुनेको भनेको त पाँच दलीय गठबन्धन हो नि । पाँच दलीय गठबन्धनको सरकार छ । यहाँ त अहिले दुई दल मात्र मिलेर आएका छन् । तीन दललाई त उहाँहरूले रिङ आउट गर्नु भएको छ । त्यसैले उहाँहरूको यो गठबन्धन उहाँहरूकै लागि प्रत्युत्पादक हुन्छ भन्ने मलाई लागेको छ । हामीले गरेका विकास निर्माणका कामबाट मतदाता सचेत हुनुहुन्छ । यो गठबन्धनका नाममा जनतालाई झुक्याउने र भागबन्डाको कुरा जुन आएको छ यसलाई जनताले रुचाउने छैनन् । समग्र रूपमा भोटिङ गर्दा मध्यपुर थिमि नगरपालिकामा हामीले बहुमत सदस्यसहित जित्ने छाैँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?