देउवाले भने- ‘रेणु र सिर्जनालाई उम्मेदवार बनाउन मैले नै भनेको हुँ’

लोकपथ
91
Shares

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकामा रेणु दाहाललाई मेयरको उम्मेदवार बनाउन आफूले भनेको बताएका छन् ।

सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणुलाई भरतपुर महानगरपालिकाको मेयरमा टिकट दिन आफूले भनेको बताएका हुन् । शुक्रबार काठमाडौंमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै उनले प्रकाशमान सिंहकी श्रीमती सिर्जनालाई काठमाडौंको मेयरमा उम्मेदवार बनाउन पनि आफूलेनै भनेको बताए । उनले पुष्पकमल दाहाल लचिलो भएकोले गठबन्धन बनाउन सजिलो भएको पनि बताए । सभापति देउवाले पार्टीको महाधिवेशन र केन्द्रीय समितिले पनि सर्वसम्मतिले गठबन्धन बनाउने कुरालाई पारित गरेपनि पछि आएर केहीले विरोध गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने, ‘यो गठबन्धन आवश्यक छ भनेर सर्वसम्मतिले पारित गरिएको हो । हाम्रो पार्टीको महाधिवेशनमा कुनै पनि विरोध भएको थिएन । महाधिवेशनले दुई तिहाई होईन, पूराका पुरा यो गठबन्धन चाहिन्छ भनेर पास गरेको थियो । पार्टीको महाधिवेशनभन्दा ठूलो केही पनि छैन । पार्टी केन्द्रिय समितिले पनि गठबन्धनले खिलाफमा कोही पनि बोलेन । त्यतिमात्रै होईन । मलाई सम्पूर्ण अधिकार पनि दियो पार्टी सभापतिको हैसियतले । अहिलेको गठबन्धन सजिलो छ । प्रचण्डजी सजिलो हुनुहुन्छ । हामी सबैले तपाईको छोरी नउठाउनुस भनेको भए मान्नु हुन्थ्यो । मैले राम्रो काम गरेको छ, टिकट दिनुस भनेको हो । काठमाडौंमा सृजना सिंहलाई टिकट दिन प्रकाशमान डराएको हो । क्या हो, क्या हो, स्वास्नी उठायो भन्लान, हराई देलान । मैले नै उम्मेदवार बनाएको हो । पार्टीमा योगदान गरेको मान्छे हो ।’

सभापति देउवाले चितवनमा राम्रो काम गरेकाले रेणुलाई मेयरमा जिताउनुपर्ने बताए । उनले काठमाडौंको फोहोरको र यातायातको समस्या समाधान गर्छु भन्ने सिंहलाई पनि जिताउनुपर्ने बताए । उनले राजधानी काठमाडौंमा मेयरका महिला उम्मेदवारले हारे बाहिरी दुनिँयाले के भन्लान भनि प्रश्न समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?