न्वारनको भोज खाँदा ३५ बिरामी

धादिङ । गजुरी गाउँपालिका–४ गैरीगाउँमा न्वारनको भोज खाँदा आज ३५ जना बिरामी परेका छन् । 

गाउँकै अनिल चेपाङको छोरीको न्वारनको भोज खाएपछि नातेदार र छरछिमेक बिरामी परेको विजय चेपाङले टेलिफोनबाट जानकारी दिए ।

भोज खाएपछि वाकवाक लाग्ने, रिंगटा लाग्ने, केही समयपछि बेहोस भएर नबोली बस्ने तथा केही मानिस भने डर लागेको बताउने, रुने, कराउने गरिरहेको उहाँले जानकारी दिए ।

न्वारनको भोज खान करीब १०० जना जम्मा भएका थिए । शुरुमा पुरोहित शुक्रबहादुर चेपाङ र भान्छामा सहयोगीको काम गर्ने वीरसिं चेपाङले खाना खाएका थिए । खाना खाएपछि उनीहरुले सामान्य रिंगटा लागेको बताएका थिए । 

भोजमा भात, आलु र कालो दाल, मासु र तरकारी राखिएको थियो । सुगनका रुपमा जाँड र रक्सीसमेत राखिएको वीरसिं चेपाङले बताए ।

बिरामीलाई गाउँमै प्राथमिक उपचार गरिरहेको र आवश्यक परेमा अस्पताल लगिने तयारी भइरहेको वडाध्यक्ष सुरेन्द्र चेपाङले जानकारी दिए। घटनास्थल पृथ्वी राजमार्गको आदमघाटबाट पाँच घण्टाको पैदल दूरीमा पर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?