राजविराजकाे मेयर पदका उम्मेदवार यादवले गरे ३० बुँदे घोषणापत्र सार्वजनिक

लोकपथ
56
Shares

सप्तरी । नेकपा माओवादी केन्द्रबाट राजविराज नगरपालिकाको मेयरमा दोस्रोपटक उम्मेदवारी दिएका शम्भुप्रसाद यादवले शिक्षा, स्वास्थ्य, कृषि, सरसफाइ लगायत क्षेत्रमा काम गर्नेभन्दै बिहीबार ३० बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् । यादवले आज पत्रकार सम्मेलन गरेर घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरेको घोषणा पत्रमा फोहोर प्रशोधन केन्द्रको निर्माण कार्य पूरा गर्ने, विटौरी जग्गाको लालपुर्जा उपलब्ध गराउने रोजगारीमा खटेका मजदुरलाई लक्षित गरी सुलभ खाजा, खाना, चिया पसलको व्यवस्था गर्ने तथा राजविराज–७ स्थित अतिथि गृह निर्माणको कामअघि बढाउनेलगायत तरहेका छन् ।

विपन्न समुदायको पहिचान गर्दै न्यून आय भएका प्रतिपरिवारलाई वार्षिक १० हजारसम्मको आर्थिक सहुलियत, नगर क्षेत्रमा रिङ रोडको निर्माण, नगर प्रशासकीय भवन निर्माण, रंगशालाको स्तरोन्नति, क्रिकेट स्टेडियमको निर्माण, टिनका छाना विस्थापित गरी विद्यालयको पक्की छत ढलान, नगर प्रहरीको व्यवस्था गरी गस्ती गराउने विषयलाई घोषणापत्रमा समावेश गरिएको छ ।

यसैगरी निर्माणाधीन हटिया, बसपार्कको काम पूरा गर्ने, लेखनाथ आदर्श पुस्तकालय अविलम्ब सञ्चालनमा ल्याउने, ‘किसान कार्डमार्फत वास्तविक किसानलाई सहुलियत उपलब्ध गराउने, मधुमेह ९सुगर० रोगको परीक्षणको व्यवस्था नगरभित्रका सबै स्वास्थ्य चौकीमा निःशुल्क गर्ने, अर्गनाइजेशन एण्ड म्यानेजमेन्ट (ओएण्डएम) का तहगत दरबन्दी सिर्जना गरी रोजगारी उपलब्ध गराउने, किसानलाई सिँचाइका लागि खेतखेतमा विद्युत् पोल निःशुल्क पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नगर क्षेत्रका नालाहरू व्यवस्थित गर्दै ढल व्यवस्थापन गर्ने, नर्सिङ कलेज, इन्जिनियर कलेज, कृषि विश्व विद्यालय, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माणका लागि पहल र समन्वय गरी सञ्चालनमा ल्याएर प्रदेशकै शैक्षिक हब बनाइने, अनलाइनमार्फत घरनक्सा पासको व्यवस्था तथा कर चुक्ताको व्यवस्था गर्ने, मलेठस्थित ज्येष्ठ नागरिक भवन सञ्चालन गर्ने घोषणा–पत्रमा समावेश गरिएको छ ।

यसैबीच पत्रकारिताको विकासका लागि नेपाल पत्रकार महासंघसित समन्वय गरी काम गर्ने, नगर क्षेत्रमा सडक बत्ती जडान गर्ने, सिट्ठी रिक्सा, मोटरसाइकल, साइकलका लागि छुट्टाछुट्टै पार्किङको व्यवस्था, नगर क्षेत्रभित्र अस्थायी ठहरा, फुटफाटलगायतका स्थानमा बसोबास गरिरहेकाहरूलाई उचित आवासको व्यवस्थापनका लागि पहल गर्ने र विद्यालय, कलेज, बसपार्क लगायतका सर्वसाधारणको बढी जमघट हुने ठाउँमा निःशुल्क इन्टरनेटको व्यवस्था मिलाउने घोषणा पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?