काठमाडौँ । सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी परिपूर्तिका लागि पहिलो प्राथमिकतामा स्थानीय तहलाई राखेको छ ।
स्थानीय तहमा जनताको प्रत्यक्ष काम हुने भएकाले कर्मचारी पठाउने पहिलो प्राथमिकतामा स्थानीय तहलाई राखिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले एक महीनापछि शुरु हुने कर्मचारी समायोजनमा सबैभन्दा पहिले स्थानीय तहमा कर्मचारी परिपूर्ति गर्ने गरी समायोजन गरिने जानकारी दिए।
तीनै तहको दरबन्दी स्वीकृत भइसकेकाले आउँदो भदौदेखि समायोजन प्रक्रिया शुरु गरिने उनले बताए । कर्मचारी संघ, प्रदेश तह र स्थानीय तहमा समायोजन गर्नका लागि मन्त्रालयले समायोजन ऐन–२०७४ जारी गरिसकेको छ । ‘‘हाम्रो प्राथमिकता सबैभन्दा पहिले स्थानीय तहमा कर्मचारीका परिपूर्ति रहेको छ’’, उनले भने,‘‘समायोजन गर्दा सबैभन्दा पहिले स्थानीय तहमा कर्मचारी पूरा हुने किसिमले गरिने छ ।’’
अहिले करीब १५ हजार स्थानीय तहमा कर्मचारी अपुग छन् । संघमा ४५ हजार ८ सय १५, प्रदेशमा १६ हजार ५ सय ७० र ५७ हजार ६ सय ९० कर्मचारीको दरबन्दी टुंग्याइएको छ । अहिले भएका सबै कर्मचारी संघमा रहेकाले तिनलाई नै स्थानीय तहमा पठाइने उनले बताए। प्रदेशमा भने यसअघिका क्षेत्रीय निर्देशनालय कार्यालयका कर्मचारी जाने छन् ।
यसैगरी मन्त्रालयले आज ८० शाखा अधिकृतलाई स्थानीय तहमा खटाएको छ । प्रवक्ता अधिकारीका अनुसार भर्खरै नियुक्त ८० शाखा अधिकृत कर्मचारीलाई रिक्त स्थानीय तहमा पठाइएको छ । अझै करिब सय शाखा अधिकृत स्थानीय तहका लागि अपुग छन् । उनले दैनिकजसो कर्मचारीलाई स्थानीय तहमा पठाइने गरेको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया