सभामुख र उपसभामुखको कुरा सदनमा उठाउन मिल्दैनः सभामुख महरा

काठमाडौं । सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुखको विषयमा संविधानअनुसार संसदमा प्रश्न उठाउन नमिल्ने बताएका छन् ।

नेपालको संविधानको धारा १९ को उपधारा २ मा सभामुख र उपसभामुख फरक पार्टी र फरक लिंगको हुनुपर्ने व्यवस्था भएपनि वर्तमान सरकारका सभामुख र उपसभामुख नेकपा (नेपाल कम्युनिस्ट पार्टी) का सांसद छन् ।

पार्टी एकीकरणपछि सांसद कृष्णबहादुर महरा सभामुख छन् भने शिवमाया तुम्बाहाम्फे उपसभामुख छन् । 

सांसद कृष्णबहादुर महरा तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् । त्यस्तै शिवमाया तत्कालीन नेकपा एमालेबाट निर्वाचित सांसद हुन् ।

दुवै पार्टीको एकता भएपछि नेकपाबाट सभामुख र उपसभामुख छन् । यही विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा आवाज उठाउँदै आएको छ । आजको प्रतिनिधि सभाको बैठकमा सांसद लक्ष्मी परियारले यस विषयमा प्रश्न गरेकी थिइन् ।

संसदमा प्रश्न उठेपछि सभामुख महराले यस विषयमा संसदमा प्रश्न नउठाउन रुलिङ गरेका थिए ।

‘सदस्यहरुले उठाउनुभएको विषय सम्मानित अदालतमा विचाराधीन रहेको छ, नेपालको संविधानको धारा १०५ मा भएको व्यवस्था अनुसार नेपालको कुनै अदालतमा विचाराधीन रहेका मुद्दाहरुमा न्याय निरुपणका विषयमा असर पर्ने विषय भएका कारण यस सम्बन्धमा छलफल गर्न नमिल्ने व्यहोरा जानकारी गराउँछु ।’, सभामुख महराले भने ।

संविधानको धारा १०५ अनुसार कुनै पनि अदालतमा विचाराधीन मुद्दामाथि संसदमा छलफल गर्न नपाइने प्रावधान छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?