प्रधानन्यायाधीशमा दीपकराज जोशीको नामबारे सोमबार निर्णय हुने

काठमाडौँ : भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक सोमबार दुई बजे बस्ने भएको छ । 

समितिको बैठक आज बिहान बस्ने भनिएता पनि दुई सांसदहरु पुष्पा भूसाल र जीतेन्द्र देव बाहिर रहेका र समितिमा आवश्यक छलफल गर्न पनि बाँकी भएको हुँदा बैठक स्थगित भएको समितिका सदस्य सांसद निरु पालले जानकारी दिर्इन् । 

जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको हुँदा आन्तरिक र थप छलफल गर्नुपर्ने भएको हुँदा बैठक स्थगित भएको हो । 

भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ । 

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?