मतपत्र च्यातेर हैन, जनताको मन जितेर चुनाव जितिन्छ : देवी ज्ञवाली

लोकपथ
399
Shares

भरतपुर । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य देवी ज्ञवालीले जनताले दिएको मत च्यातेर हैन, जनताको मन जितेर चुनाव जितिने बताएका छन् ।

नेकपा एमाले भरतपुर वडा नं १० को चुनावी कार्यक्रमअन्तर्गत गौतम चोकमा भएको कोण सभालाई सम्बोधन गदै उनले जनताले माया गरेर दिएको मतलाई अपमान गर्न नहुने बताए ।

ज्ञवालीले भरतपुरमा माओवादीको हैकमवाद र परिवारवादले भरतपुरबासी आजित भएको भन्दै महानगरको सक्षम नेतृत्वका लागि एमालेका उम्मेदवारलाई मतदान गर्न अनुरोध गरे । एमाले चितवनका जिल्ला ईन्चार्ज समेत रहेका ज्ञवालीले विकासको चर्को गफ गर्ने तर यथार्थमा महानगर भताभुङ्ग भएको बताए ।

गएराती परेको एकझरको पानीले गठबन्धनले आयोजना गरेको आमसभा स्थल डुबान भएको भन्दै रेनु दाहालले गरेको विकासको हविगत त्यहि देखिएको बताए । नेकपा (एमाले) का तर्फबाट भरतपुर महानगरपालिका वडा नं १० को अध्यक्षको उम्मेदवार भक्ति गौतमले पानीको निकाससहितको विकास गर्ने बताएका छन् ।

विना योजना सडक निर्माण गर्दा सामान्य वर्षामा पनि पानी जम्ने समस्या रहेकाले आउँदा दिनमा आफ्नो नेतृत्वले ढल निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । चुनावी प्रचारका क्रममा घरदैलो गर्दै उनले पहिलो काम नै डुवान समस्या मुक्त गर्ने बताए ।स्थानीयको सुझावलाइ ध्यान दिएर मात्र कार्य सम्पादन गर्ने उनको प्रतिबद्धता छ ।

कार्यक्रममा वडा इन्चार्ज विष्णु अधिकारी, महानगर कमिटी सदस्य मिनराज गौतम, नेकपा एमालेका वडा अध्यक्ष नहेन्द्र खड्का, उपाध्यक्ष चन्द्रलाल तामाङ, सचिव बद्री खनाल, उपसचिव बिज्ञान पौडेल, चिन्तामणी कडेललगायतको उपस्थिति रहेको थियो ।

नेकपा (एकिकृत समाजवादी) रत्ननगर वडा नम्बर ३ को वडा कमिटी एमालेमा समाहित भएको छ । वडा कमिटी अध्यक्ष अशोक भुषालको नेतृत्वमा वडा कमिटी नै एमालेमा समाहित भएको हो । भुषालसहित वडा कमिटीका सदस्यहरुलाई नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा स्वागत गरेका हुन् ।

नेकपा एमालेमै फर्किनेमा सुबास भुषाल, दिपेश श्रेष्ठ, संजय चौधरी, नवराज अधिकारी, लक्ष्मण रानाभाट, इश्वर लामा, लाल बहादुर तामाङसहित कांग्रेसका नवराज श्रेष्ठ एमालेमा प्रवेश गरेको एमाले नगर कमिटी अध्यक्ष इश्वरी अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?