बद्नाम गोँगबु क्षेत्र, याैन व्यवसायदेखि ट्याक्सीको मनोमानीसम्म

काठमाडौँ-नयाँ बसपार्क क्षेत्रका होटल व्यवसायीले गोँगबु, नयाँ बसपार्क क्षेत्रमा देखिएको विकृति, विसंगति हटाउन व्यवसायी एकजुट भएका छन् ।

नयाँ बसपार्क क्षेत्रमा हुने लुटपाट, लागुऔषध, तेस्रोलिङ्गी, यौन व्यवसाय, ट्याक्सीको मनोमानी, होटल गाइडलाई हटाउन व्यवसायी एकजुट भएका हुन् ।

नेपाली होटल व्यवसायी संघ, काठमाडौँ होटल व्यवसायी संघ, बालाजु होटल व्यवसायी संघ र संयुक्त होटल व्यवसायी संघले आज एक कार्यक्रमको आयोजना गरी गोँगबु क्षेत्रमा देखिएको विकृति हटाउन सबै क्षेत्र एकजुट हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले समाज परिवर्तन र मुलुकको विकासका लागि आफैँ अगाडि बढ्नुपर्ने बताए । “सबै समस्या प्रहरीले चाहेरमात्र समाधान गर्न सक्दैन यसका लागि नागरिक सहयोग आवश्यक छ,” उनले भने ।

परिसरका प्रमुख पोखरेलले सुरक्षा दृष्टिकोणले गोँगबु क्षेत्र संवेदनशील क्षेत्र भएको भन्दै यसलाई हटाउनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
 प्रहरी सुधार भएमात्र समाज सुधार हुने भन्दै सुधार नहुने प्रहरीलाई कारबाही गरिने स्पष्ट पारे । मूल्यमान्यता र आदर्शमा रहेर होटल व्यवसाय गर्न उनले सबै व्यवसायीलाई आग्रहसमेत गर्नुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारीले विकृति गर्ने होटलको पक्षमा काठमाडौँ महानगरपालिका नभएको बताए ।

टोखा नगरपालिका वडा नं ९ का अध्यक्ष जोगप्रसाद नेपालले गोँगबु क्षेत्रमा देखिएको विकृति र विसंगति हटाए मात्र सभ्य समाज निर्माण हुने बताए । “होटल व्यवसायीकै संरक्षणका कारण होटल गाइडले काम गरिरहेका यसको अन्त्यका लागि होटल व्यवसायी नै गम्भीर हुनुपर्छ”, उनले भने ।

सामुदायिक सेवाकेन्द्र गोँगबुका अध्यक्ष शैलेश कार्कीले होटल व्यवसायीभित्र देखिएका समस्या समाधानका लागि व्यवसायी नै एकजुट भएको बताए।

समाज उत्थान महिला मञ्च उपाध्यक्ष जानुका ढकाल नयाँ बसपार्कभित्रको विकृति विसंगति हटाए मात्र समाज सुध्रिने बताइन् ।  महिला उपकार समाज मञ्च अध्यक्ष लक्ष्मी भण्डारीले एक दुई वटा होटल व्यवसायीले गोँगबु क्षेत्रकै होटल व्यवसायको बद्नाम भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?